पर्वत- राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन ईकाई बागलुङ चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनमा अघि बढेको छ । ईकाई अन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४ मा पर्वत, बागलुङ र गुल्मीका विभिन्न क्षेत्रमा कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले २ करोड ४७ लाख रुपैयाँसम्मको साझेदारी रकम परिचालन हुने भएको छ।
कार्यक्रम कार्यान्वयन एकाइ बागलुङले विभिन्न जोन तथा कार्यक्रमअन्तर्गत कृषि यान्त्रीकरण, सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत, संरक्षित खेती, पशुशाला सुधार, बाली क्षेत्र विस्तार, नर्सरी स्रोत केन्द्र स्थापना तथा माटो स्वास्थ्य सुधारलगायतका कार्यक्रम सञ्चालन गर्न कृषक समूह, कृषि सहकारी, कृषि फर्म, कृषि उद्यमी, कम्पनी तथा सम्बन्धित उपभोक्ता समितिबाट प्रस्ताव आह्वान गरेको छ।
कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार धान जोन, तरकारी जोन, बाख्रा जोन, चैते धान प्रवर्द्धन, व्यावसायिक प्याज प्रवर्द्धन, अलैंची जोन तथा माटो स्वास्थ्य सुधार कार्यक्रमका लागि छुट्टाछुट्टै साझेदारी रकम निर्धारण गरिएको छ। कार्यक्रमको प्रकृति र प्रस्तावित योजनाको परिमाणका आधारमा अधिकतम साझेदारी रकम उपलब्ध गराइनेछ।
धान जोनअन्तर्गत कृषि यान्त्रीकरण तथा सिँचाइ पूर्वाधार निर्माण र मर्मतका कार्यक्रम सञ्चालन हुनेछन्। कृषि यान्त्रीकरणतर्फ अधिकतम पाँच लाख रुपैयाँ तथा सिँचाइ पूर्वाधारतर्फ आठवटा योजनाका लागि प्रतियोजना १६ लाख रुपैयाँसम्म साझेदारी उपलब्ध गराउने व्यवस्था गरिएको छ।
तरकारी जोनमा कृषि यान्त्रीकरण, प्लास्टिक घर निर्माण तथा सिँचाइ पूर्वाधारलाई प्राथमिकता दिइएको छ। कृषि यान्त्रीकरणका लागि पाँच लाख, प्लास्टिक घर निर्माणका लागि १५ वटा योजनामा प्रतियोजना १५ लाख तथा सिँचाइ पूर्वाधारका १० वटा योजनामा प्रतियोजना २० लाख रुपैयाँसम्म साझेदारी रकम उपलब्ध गराइनेछ।
बाख्रा जोनतर्फ पशु नश्ल सुधार, कृषि यान्त्रीकरण, बाख्रा खोर सुधार तथा निर्माण र आधुनिक खोर निर्माणका कार्यक्रम छन्। पशु नश्ल सुधारका २१ वटा कार्यक्रमका लागि प्रतिकार्यक्रम चार लाख २५ हजार, कृषि यान्त्रीकरणका लागि चार लाख, खोर सुधार तथा निर्माणका १५ वटा योजनाका लागि प्रतियोजना १५ लाख र आधुनिक खोर निर्माणका आठवटा योजनाका लागि प्रतियोजना १६ लाख रुपैयाँसम्म साझेदारी रकम उपलब्ध गराउने व्यवस्था छ।
चैते धान प्रवर्द्धन कार्यक्रममार्फत १० हेक्टर क्षेत्रफलमा उत्पादन विस्तार गर्ने लक्ष्य राखिएको छ। यसका लागि प्रतिहेक्टर एक लाख ५५ हजार रुपैयाँसम्म तथा तीनवटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत योजनाका लागि प्रतियोजना छ लाख रुपैयाँसम्म साझेदारी उपलब्ध गराइनेछ। व्यावसायिक प्याज प्रवर्द्धनका लागि भने एक कार्यक्रम सञ्चालन गरी १४ लाख रुपैयाँसम्म साझेदारी रकम उपलब्ध गराइने सूचनामा उल्लेख छ।
अलैंची जोनअन्तर्गत कार्यक्रमको क्षेत्र विस्तारसँगै कृषि यान्त्रीकरण, सिँचाइ पूर्वाधार, नर्सरी स्रोत केन्द्र स्थापना तथा सुधारिएको आधुनिक माटो निर्माणमा सहयोग गरिनेछ। अलैंचीको प्रभाव क्षेत्र ५० हेक्टर विस्तार गर्ने, १० वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत गर्ने, दुईवटा नर्सरी स्रोत केन्द्र स्थापना गर्ने तथा पाँचवटा सुधारिएको आधुनिक माटो निर्माणका कार्यक्रम सञ्चालन गरिनेछन्।
त्यसैगरी माटोको स्वास्थ्य सुधार तथा प्राङ्गारिक खेती प्रवर्द्धनका लागि प्राङ्गारिक मल तथा भर्मी कम्पोस्ट प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रमअन्तर्गत दुईवटा योजनाका लागि प्रतियोजना पाँच लाख ६० हजार रुपैयाँसम्म साझेदारी रकम उपलब्ध गराइनेछ।
कार्यक्रम कार्यान्वयन एकाइका अनुसार प्रस्ताव पेश गर्ने कृषक समूह, सहकारी, कृषि फर्म, उद्यमी तथा कम्पनीले तोकिएका आवश्यक कागजातसहित प्रस्ताव पेश गर्नुपर्नेछ। संस्थाको दर्ता तथा नवीकरण प्रमाणपत्र, करसम्बन्धी कागजात, सम्बन्धित वडा कार्यालयको सिफारिस, संस्थाको निर्णय तथा कार्यक्रमको प्रकृतिअनुसार जग्गासम्बन्धी कागजातसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
पर्वतका विभिन्न स्थानीय तहसहित बागलुङ र गुल्मीका लक्षित क्षेत्रलाई समेटेर सञ्चालन हुने कार्यक्रमले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउने, उत्पादन लागत घटाउने, सिँचाइ तथा उत्पादन पूर्वाधार विस्तार गर्ने र कृषिलाई व्यवसायीकरण गर्ने लक्ष्य राखेको छ।
कृषि क्षेत्रमा भइरहेको परम्परागत उत्पादन प्रणालीलाई क्रमशः आधुनिक प्रविधि र व्यावसायिक प्रणालीमा रूपान्तरण गर्न यान्त्रीकरण, पूर्वाधार र उत्पादन क्षेत्र विस्तारमा केन्द्रित कार्यक्रमले कृषकको उत्पादन क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






