पर्वत– नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति नजिकिदै गर्दा पर्वतमा पनि अधिवेशनको सरगर्मी शुरु भएको छ ।
आगामी असोज ३ र ४ गते गाउँपालिका तथा नगरपालिकाका वडा अधिवेशनको तयारीका लागि पर्वत काँग्रेसले भदौ २७ गते पुर्ण बैठक आव्हान गरेको छ । पार्टी सभापति युवराज जोशीले बुधवार पत्र जारी गर्दै बैठकमा अनिवार्य उपस्थितिका लागि जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य,महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति पालिका सभापति र पुर्व पदाधिकारीहरुलाई आमन्त्रण गर्नुभएको छ ।
उक्त बैठकले जिल्लामा अधिवेशनको तयारी, वडा प्रतिनिधि, विभाजन लगायत अन्य कार्यसुचि तयार गर्ने जनाईएको छ । भदौ २७ गते विहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्ने भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने तय गरिएको छ ।
त्यसपछि केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने यसअघिकै निर्णयलाई निरन्तरता दिइएको छ ।
अधिवेशन नजिकिदै गर्दा जिल्ला नेतृत्वका आकांक्षीहरुको चर्चा समेत चुलिदै गएको छ । पर्वत काँग्रेसको आगामी नेतृत्वका लागि वर्तमान सभापति युवराज जोशी, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, अहिलेका उपसभापति शिव सुवेदी, यामबहादुर मल्ल, खगेन्द्र तिवारी लगायतको नाम चर्चामा रहेको छ ।






