पर्वतको कुश्मा र मोदीमा एमाले अधिवेशन ः नेतृत्व चयन प्रकृया आज - News site from Nepal
पर्वतको कुश्मा र मोदीमा एमाले अधिवेशन ः नेतृत्व चयन प्रकृया आज

पर्वत- पर्वतका दुई स्थानीय तहमा नेकपा एमालेको अधिवेशन शुरु भएको छ । जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा हिजोदेखि अधिवेशन शुरु भएको हो ।
कुश्मामा आयोजित कार्यक्रमा सम्वोधन गर्दै अनुशासन आयोगका केन्द्रीय सदस्य गणेश शर्मा पौडेलले यो मुलुकको भविष्य निर्माण गर्ने पार्टी नेकपा एमालेनै भएको बताउनुभयो । उहाँले पार्टीभित्र कहिलेकाही छिटफुट समस्याहरु आएपनि मुलुकको पहिलो शक्ति एमालेनै हुने बताउँदै सवै कार्यकर्ताहरुलाई सक्रिय रुपमा संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले कोहिपनि कार्यकर्ताहरुलाई विभाजनको पक्षमा नलाग्न आग्रह गर्दै अब आउने तीनै निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रदेश कमिटि सचिवालय सदस्य मनोहर वि पौडेल, प्रदेश कमिटि सदस्य विकास लम्साल, मेघनाथ सुवेदी, फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, नेकपा एमालेका उपचिब गोविन्द पहाडी, युवा नेता लक्ष्मण गिरी, उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, नेपाली काँग्रेस कुश्मा नगर सभापति किशोर भण्डारी, माओवादी केन्द्र कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरी, राप्रपाका कुश्मा नगर अध्यक्ष अशोक गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नगर कमिटि संयोजक विष्णु नेवारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन सचिब मिनप्रसाद श्रेष्ठले गर्नुभएको थियो । हिजो उद्घाटन भएपनि निर्वाचनका कार्यक्रम भने आज विहानदेखि मात्र संचालन हुने भएका छन् ।
एमाले कुश्मा नगरपालिकाको अध्यक्ष मिनप्रसाद श्रेष्ठ हुने सम्भावना बलियो रहेको छ । अन्य पदमा भने आकांक्षीहरु धेरै देखिएका छन् ।

त्यसैगरी मोदी गाउँपालिकामा पनि आजैदेखि एमाले अधिवेशन प्रारम्भ भएको छ । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरी, प्रदेश सभा सदस्य विकास लम्साल, संविधान सभा सदस्य कल्पना चापागाई, एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, राष्ट्रिय युवा संघका सचिब विमल लामिछाने लगायले बोल्नुभएको थियो । उद्घाटन पछि आयोजित बन्द सत्रमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको युवा नेता विमल लामिछानेले जानकारी दिनुभयो । निर्वाचन प्रकृया अहिले शुरु हुने भएको छ । पर्वतको जलजला र पैयुँमा नेतृत्व चयन भैसकेको छ भने फलेवास र विहादीमा विवाद कायमै रहेको छ । महाशिला गाउँपालिकाको अधिवेशन कात्तिक १५ गते तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!