रसुवा बाढी : शव नभेटिएपछि शिव लम्सालको कुशको आकृति बनाएर अन्तिम संस्कार  - News site from Nepal
पर्वत १६ भदौ : सकुसल त परैको कुरा शव समेत भेटिने आशा मरेपछि भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका पर्वतका शिवप्रसाद लम्सालको कुशको आकृति बनाएर दाहसंस्कार गरिएको छ ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्याप्रुवेशीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत ४८ बर्षिय लम्सालको मंगलवार कालीगण्डकीमा दाहसंस्कार गरिएको हो ।
रसुवादेखि चितवनसम्म छ दिनसम्म खोजी गर्दा पनि शव वा सकुसल नभेटिएको र कसैको सम्पर्कमा समेत नरहेको पाईएपछि आफन्त तथा गाउँलेहरु मिलेर कुशको आकृति बनाएर दाहसंस्कार गर्ने निर्णय गरेका हुन् ।
एनआईएमबी बैंकको स्याप्रुबेशी शाखामा कार्यरत लम्साललाई भदौ १० गते बैंकभित्र काम गर्दैगर्दा बाढीले बगाएको थियो । बाढीले सम्पर्क बिहीन भएको खबरपछि गाउँबाट पगेका आफन्तजनका साथै सुरक्षा निकायको लामो खोजतलास गर्दा पनि नभेटिएपछि अब ज्यूँदो वा शव समेत भेटिने आशा नदेखेर अन्तिम संस्कार गरिएको आफन्त विकास लम्सालले जानकारी दिनुभयो ।
कुशको आकृति बनाएर अन्तिम संस्कार गर्दा गाउँलेहरुमा समेत रुवावासी छाएको थियो । अन्तिम संसकारमा सयौ गाउँलेहरु तथा आफन्तजनहरु घाटसम्म पुगेका थिए । धेरै दिनसम्म कुनै खबर नपाउँदा लम्सालकी श्रीमती, छोराछोरी, बाबुआमा समेतको अवस्था जटिल बन्दै गएपछि कुशको शव बनाएर दाहसंस्कार गर्ने निर्णय गरिएको मृतकका दाजु विकास लम्सालले जानकारी दिनुभयो ।
जागिर खान गएको ब्यक्ति कतिखेर फर्केर आउँछ कि भन्ने जस्तो आशा निराशामा परिणत भएको उहाँले बताउनुभयो । अब ज्यूँदो भेटिने त कुरै भएन, शव समेत भेटिने स्थिति देखिएन, लम्सालले भन्नुभयो ‘मेरो जीवनमै पहिलोपटक यसरी कुशको आकृति बनाएर दाहसंसकार गरेरको घटना देख्नुपर्‍यो ।’ यसरी कुशको आकृति बनाएर अन्तिम संस्कार गरेको अहिलेसम्म नसुनेको उहाँको भनाई छ ।
मृतक शिबको काजकिरिया उनका छोरा आयुशले गर्ने भएका छन् ।   लम्सालको निधनले सिंगो गाउँ समेत शोकमग्न बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!