पर्वत- पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँ कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत भई कार्यान्वयनमा रहेका बजेट तथा कार्यक्रमहरूको भुक्तानीलाई मध्यनजर गर्दै असार १४ र २१ गते आइतबार सार्वजनिक बिदा भए पनि गाउँ कार्यपालिकाको कार्यालय नियमित रूपमा सञ्चालन हुने जनाएको हो।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा जारी सूचनाअनुसार ती दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुला रहनेछ। साथै सम्पूर्ण शाखा तथा मातहतका कर्मचारीहरू अनिवार्य रूपमा उपस्थित भई नियमित सेवा प्रवाह गर्न पनि निर्देशन दिइएको छ।
गाउँपालिकाले आर्थिक वर्षको अन्त्यतिर बजेट तथा कार्यक्रमको भुक्तानी, प्रशासनिक कार्य सम्पादन र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक बिदाको दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ। यस सम्बन्धी जानकारी सेवाग्राही तथा सरोकारवालालाई समयमै उपलब्ध गराउन सूचना सार्वजनिक गरिएको गाउँपालिकाले उल्लेख गरेको छ।