पर्वतमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान संचालन - News site from Nepal

पर्वत : डेंगु सङ्क्रमणको जोखिम बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ।
वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी पानी हटाउने तथा सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, पर्वतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, पर्वतको सहकार्यमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत कुश्मा नगरपालिका–७ खरिया क्षेत्रका विभिन्न ग्यारेज, किराना पसल तथा कुश्मा बजारका अन्य सम्भावित जोखिमयुक्त स्थानमा सरसफाइ गरिएको थियो।
सुरक्षाकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले घर तथा पसल वरपर जमेको पानी हटाउने, पानी जम्न सक्ने भाँडाकुँडा, टायर, बोतल, बाल्टिनलगायतका सामग्रीको निरीक्षण गर्ने र लामखुट्टेको सम्भावित प्रजनन स्थल नष्ट गर्ने काम गरेका थिए। सदरमुकाम कुश्माको शिवालय चोकदेखि खरेहासम्म पुगेर अभियान सम्पन्न भएको हो। अभियानमा जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादव, प्रहरी निरीक्षक दिनेश पौडेलसहित जुनियर प्रहरी अधिकृत तथा जवानको सहभागिता रहेको थियो।
वर्षापछि गमला, पुराना टायर, बोतल, बाल्टिन, छत, कुलरलगायतका स्थानमा पानी जम्दा एडिस लामखुट्टेका लागि प्रजनन स्थल बन्न सक्छ। तातो तथा ओसिलो मौसम पनि लामखुट्टेको वृद्धि र गतिविधिका लागि अनुकूल हुने भएकाले वर्षा याममा डेंगुको जोखिम बढी हुने गर्दछ। डेंगु सङ्क्रमित व्यक्तिलाई एडिस लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोक्दा डेंगु भाइरस सर्न सक्छ। घना बस्ती, सरसफाइको कमी र घर वरिपरि थोरै मात्रामा पानी जम्ने अवस्थाले पनि सङ्क्रमण फैलिने जोखिम बढाउने चिकित्सकहरू बताउँछन्।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार डेंगु सार्ने एडिस लामखुट्टे प्रायः दिनको समयमा, विशेष गरी बिहान र साँझतिर बढी सक्रिय हुन्छ। त्यसैले राति मात्र लामखुट्टेको टोकाइबाट जोगिनु पर्याप्त हुँदैन। घर तथा कार्यालय वरपर पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने र नियमित सरसफाइ गर्ने कामलाई प्राथमिकता दिन आवश्यक हुने उनले बताए। प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकारी सुमन शर्माका अनुसार २०८३ सालमा पर्वतमा हालसम्म डेंगुका २७ जना नयाँ बिरामी भेटिएका छन्। तीमध्ये १२ जना निको भएका छन् भने १४ जना घरमै उपचाररत छन्। एक जना अस्पतालमा उपचाररत रहेका छन्।
डेंगु नियन्त्रणका लागि सरकारी निकायले मात्र नभई प्रत्येक घरपरिवारले आफ्नो घर तथा वरपरको वातावरणमा पानी जम्न नदिने र लामखुट्टेको सम्भावित प्रजनन स्थल नष्ट गर्ने कार्यलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!