पर्वत – पर्वतका विभिन्न क्षेत्रमा लगाईएको धानवालीमा ब्लाष्ट (मरुवा) रोगको प्रकोप बढेको छ ।
विशेषगरी फलेवास र कुश्मा नगरपालिकाका विभिन्न फाँटहरुमा लगाईएको विभिन्न प्रजातीको धान बालीमा ब्लाष्ट रोग देखिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने र बिरुवा विस्तारै मर्ने समस्या देखिएको छ ।
गाँज राख्ने र सप्रिने बेलामा धानवालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । किसानहरुको वालीमा आकस्मिक रुममा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिए । व्यावसायिक रुपमा लगाईको सयौ रोपनी खेतमा ब्लाष्ट रोगको प्रकोप देखिएपछि राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन ईकाई बागलुङका प्राविधिक सहितको टोलीले स्थलगत रुपमा अनुसन्धान गरेको छ । यो खबर आजको धौलागिरी सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
गत वर्षपनि ब्लाष्ट रोग देखिएको थियो । धानवालीमा जींक तथा पोटासको कमी, तापक्रम बृद्धि लगायतका कारणले यस्तो रोगको प्रकोप बढेको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन ईकाई बागलुङका प्रमुख अर्जुनप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
अहिले फलेवासका तीन वटा वडामा बढि मात्रामा संक्रमण देखिएको भएपनि अन्य वडाहरुमा समेत सामान्य समस्या देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले जानकारी दिए । उनले कृषि प्राविधिकहरुसँग समन्वय गरेर प्रकोपको निदानका लाग पहल भैरहेको बताए ।
स्थलगत रुपमा पुगेको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमको प्राविधिक टोलिले ट्राईसीक्लाजोल नामको विषादी सिफारीस गरेका छन् । यसैगरी पानीको मात्रा मिलाउन, युरिया एकैपटक धेरै प्रयोग नगर्न, धेरै संक्रमण देखिएमा ट्राईअक्थ्रोबिन र टेबुक्नोजलको प्रयोग गर्न सुझाव दिईएको सुवेदीले बताउनुभयो । उनका अनुसार एक ग्राम विषादीमा एक ग्राम पानी घोलेर छर्किएपछि एक सातामै सुधार आउने भएको छ र
गत वर्षपनि यस्तो रोग लागेको भएपनि सामान्य क्षति भएको थियो । स्थानीय कृषक लालबहादुर कुँवरले धानमा गाँज राख्ने र सप्रिने बेलामा रोग लागेर नष्ट गर्न थालेको बताए । उनले प्राविधिकहरुनै स्थलगत रुपमा अनुगमन गरी विषादी सिफारीस गरेकाले बाँकी असर नगर्ने विश्वास ब्यक्त गरे । कृषकहरुलाई विषादी निशुल्क उपलव्ध गराईएको हो ।
कृषि ज्ञान केन्द पर्वतका सुचना अधिकारी सोविता सुवेदीले वर्खेवालीमा आउने समस्याको समाधानका लागि स्थानीय तहमा रहको कृषि शाखाका साथै ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमबीच समन्वय र सहकार्य भैरहेको जानकारी दिईन ।






