पर्वत– पर्वतमा होटलहरु अनुगमन गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने होटलहरुको शुक्रवार अनुगमन गरिएको हो ।
गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सरफाईमा चरम लापरबाही देखिएको छ । होटलहरु पुग्दा खाना पकाउने स्थानहरुमा निकै फोहोर भेटिएको हो । बासि सडेगलेका सामानहरु छरपस्ट राखिएको, साकाहारी र मांसाहारीका लागि तयार गरिने परिकारहरु एकै स्थानमा भण्डारण तथा फ्रिजिङ गरिएको, धुलो, मैलो र बाह्य फोहोरहरु एकै ठाउँमा देखिएको जस्ता सरसफाईमा न्युनतम मापदण्ड समेत पुरा नगरिएको पार्ईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले दैनिक यात्रुहरु तथा अन्य सर्वसाधारणलाई खाना, खाजा खुवाउने होटलहरुको गुणस्तर र सरसफाईमा चरम लापरबाही देखिएको जानकारी दिनुभयो । पहिलो चरणको अनुगमन भएकाले सरफाई गर्न र होटल व्यावसायका लागि आधारभुत मापदण्ड पुरा गर्न चेतावनी दिईएको उहाँले बताउनुभयो । अर्को पटकको अनुगमनमा पनि सुधार नगरेमा आवश्यक कारबाही प्रकृया अघि बढाईने उहाँको भनाई रहेको छ ।
होटलहरुमा बाहिरी व्यवस्थान र आबरण राम्रो देखिएको भएपनि भित्रि व्यवस्थापन निकै सुधार गर्नुपर्ने देखिएको एकीकृत विकास कार्यालय पर्वतका अधिकृत भिम अर्यालले बताउनुभयो । राजर्मामा पर्ने कुश्मा, पराधी, आम्बोट पातीचौर लगायतका स्थानमा पुगेर होटलहरु अनुगमन गरिएको थियो । सो क्रममा स्वास्थ्य प्राविधिक, सुरक्षा निकाय, पत्रकार लगायतको पनि सहभागिता थियो ।





