पर्वत- नेकपा एमाले पर्वतको आयोजनामा बृहद कार्यकर्ता भेला भोली हुने भएको छ ।
सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा आयोजित भेलालाई नेकपा एमालका केन्द्रीय सचिब तथा गण्डकी प्रदेश सरकारका पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र केन्द्रीय सचिब योगेश भट्टराई लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमालेको विभाजन पछि हुन लागेको प्रथम बृहद भेलामा जिल्लाका सातवटै पालिकाबाट कार्यकर्ताहरुलाई सहभागिताका लागि आव्हान गरिएको छ । भोलीको भेलामा जिल्लामा रहेका पार्टी र जनसंगठनका केन्द्र, प्रदेश तथा जिल्ला कमिटिका सदस्य, विभिन्न निकाय र विभागका सदस्यहरु, पार्टीका निर्वाचन क्षेत्र, नगर, गाउँ, वडा कमिटिका सदस्यहरु, निर्वाचित जनप्रतिनिधिहरु, जिल्ला कमिटि सदस्यहरु, सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरु, जनसंगठनका पालिका तथा वडा सदस्यहरुको सहभागिता रहने नेकपा एमाले पर्वतका सचिब पदमपाणी शर्माले जानकारी दिनुभयो ।
तत्कालीन नेकपा विभाजन पछि माधव नेपाल तर्फ लागेका तर नेकपा एकीकृत समाजवादीमा समेत संलग्न नभएका नेता कार्यकर्ताहरु समेत भोलीको भेलामा सहभागि हुने भएका छन् ।
भेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सवैजसो तयारीहरु भएको उहाँको भनाई रहेको छ । यसैबीच भोलीको तयारी लगायत विविध विषयमा छलफलका लागि नेकपा एमाले जिल्ला कमिटिको बैठक आज बसिरहेको छ । जारी ११ औं बैठक,पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश कमिटीका संयोजक किरण गुरुङ्गको प्रमुख आतिथ्यता रहेको छ भने पर्बत इन्चार्ज गोविन्द बहादुर नेपालीको समेत उपस्थिति रहेको छ । बैठक सुदृढ, संगठित र सबल एमाले निर्माणमा केन्द्रित रहेको जिल्ला कमिटि सदस्य विमल लामिछानेले जानकारी दिनुभयो ।






