पोखरा
२०७६/०१/१६
पोखराको फेवाताल किनारमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा सहितको पार्क बनाउन लागिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा करिब ४ करोडको लागतमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको हो । पर्यटकीय गन्तब्य विस्तार गर्ने योजना सहित पार्क निर्माणको परिकल्पना गरिएका बताईएको छ ।
४ करोड लागतमध्ये चालू बर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ । पार्कको पहिलो चरणको काम गर्न विनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ । १७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्नेछ । यो बर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने पोखरा महानगरका प्रमुख इञ्जिनियर शोभियत खड्काले जानकारी दिनुभयो । पार्कमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा सहितको त्यहाँ पुग्ने पुल, टिकट काउण्टर, रेष्टुरेष्ट, छहरा, फुट ट्रयाक, बाल उद्यान लगायत संरचना बन्ने छ ।
उक्त पार्क निर्माणको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो । शिलान्यास गर्दै गुरुङले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध राम्रो रहेको सन्देश दिन तथा स्थानिय सरकार र प्रदेश सरकारको सयुंक्त लगानीमा विकासका योजना अगाडी बढाएको सन्देश दिन उक्त काम अगाडी बढाइएको बताउनुभयो ।
पर्यटकीय गन्तब्य विस्तार गर्ने योजना सहित पार्क निर्माणको परिकल्पना गरिएको बताउदै गुरुङले गण्डकी प्रदेश पर्यटनबाटै समृद्धी चाहाने र त्यसका लागि संरचना आवश्यक पर्ने हुदा पर्यटन पूर्वाधारका काम प्रदेश सरकारले आगाडी बढाएको बताउनुभयो । आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित गरि पार्क निर्माण गरिने उहाँको भनाई थियो ।
उक्त कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत,पर्यटन मन्त्री विकास लम्सालको समेत उपस्थिती रहेको थियो ।
फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताउनुभयो । प्रदेश सरकारले मन्त्रीपरिषद् बैठकबाटै झण्डापार्क बनाउने निर्णय गरेको थियो । त्यसका लागि महानगरले पनि समन्वय गरेको हो ।






