पर्वत– युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजको आयोजनामा सेभेन ए साईड फुटबल प्रतियोगिता बिहीवारदेखि कुश्मामा शुरु भएको छ ।
आजदेखि तीन दिन सम्म संचालन हुने प्रतियोगिताको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै जोशीले खेल क्षेत्रको विकासका लागि राज्यले पर्याप्त लगानी गर्न नसकेको टिप्पणी गर्नुभयो । जोशीले पर्याप्त खेलमैदान को सुविधा नहुँदा खेलकुदका गतिविधिहरु संचालन गर्न कठिनाई भैरहेको बताउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले पनि हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड लगायत विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले पर्वत जिल्लाको इतिहासमै सवैभन्दा पुरस्कार राशिको सेभेन ए साईड फटवल प्रतियोगिता राखेर खेल क्षेत्रका प्रतिभाहरुको विकास गर्न लागेकोमा उच्च प्रसंसा गर्दै यस्ता कार्यक्रमले भोली राष्ट्रिय स्तरमा समेत पर्वतको गरिमा बढ्ने बताउनुभयो ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, पर्वत जेसीजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ भरत, पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष निर्मल विश्वकर्मा, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेल लगायतले बोल्नुभएको थियो ।
प्रतियोगितामा २२ समुहले भाग लिएका छन् । विजेता समूहले १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ ।
प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरु सहभागि हुन आउने क्रम बढ्दै गएको छ । प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय व्यावसायमा समेत उल्लेख्य फाईदा पुग्ने पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगिता अघि कुश्माबजारमा शान्ति र्याली समेत प्रदर्शन गरिएको थियो ।






