पोखरा
राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दलका नेताहरूले विकास निर्माणमा अनावश्यक राजनीति गर्नाले देशले विकासमा फड्को मर्न नसकेको बताउनुभएको छ ।
शनिबार पोखरामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा प्रस्याङद्वारा सञ्चालन गरिने दिव्य दर्शन सरोवर एवं शान्ति उधान भवनको शिलान्यास गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विकास निर्माणको मामिलामा पनि विभिन्न पार्टीका नेताहरूको एकले अर्कोलाई सिध्याउने परिपाटीका कारण मुलुकमा परिवर्तन र विकास हुन नसकेको बताउनुभयो ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठि सबै राजनीतिक दलका नेताहरू देश विकासमा एक ढिक्का भएर लाग्न नसक्नुले मुलुक समृद्ध हुन नसकेको बताउनुभयो ।
विकास निर्माणका मुद्दाहरुमा राजनीतिक खिचातानी
नगरी महत्वपूर्ण रचनात्मक सुझाव र सल्लाह गरि विकास निर्माणमा हातेमालो गर्न दलहरूलाई उहाँले सुझाव दिनुभयो ।
नेताहरूले देश विकासमा आफ्नो पुर्ण समय समर्पण गरि लोभलालच नगरी देश बनाउन लागे मुलुक छिट्टै समृद्ध शाली बन्ने उहाँको धारणा थियो ।
नेपालमा प्रकृतिले दिएको अथाह सम्पत्ति हुदा पनि मुलुक पछाडि पर्नु दुर्भाग्य भएको उहाँको भनाइ थियो ।
सोही अवसरमा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ईमानदारी र पारदर्शी कामलेनै विकास निर्माणका योजनाहरु मजबुत हुने र समयमै सम्पन्न हुने बताउनुभयो । उहाँले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एक सामाजिक संस्था भएकाले यस संस्था बाट नैतिकवान सभ्य समाज निर्माण तथा ईमान्दारिताको पाठ समाजका जुनसुकै मानिसहरुले पनि सिक्नुपर्ने धारणा राख्नुभयो ।
दिव्य दर्शन सरोवर एवं शान्ति उधान निर्माणको लागि ७ करोड लाग्ने गुरुयोजना तयार पारिएको छ । ५ बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त योजनाको पहिलो बर्ष राजयोग भवन,पैदल मार्ग,गाडी पार्कीङ दोस्रो चरणमा पानी फोहोरा,सरोवर, शान्ति उद्यान,सार्वजनिक सुविधालय भवन त्यसै गरि तेस्रो चरणमा बगैंचा,भोजन भवन र रट्रिट हल लागाएतका संरचना तयार पारिने ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका महासचिब शैलेन्द्र कुमार बरालले बताउनुभयो ।
पर्यटकीय मनोरम स्थल लबली डाँडाको सुन्दर मनोरम वातावरणका बिच यो परियोजना सम्पन्न भईसके पछि एक पर्यटकीय गन्तव्य स्थल बन्ने स्थानियको भनाई छ ।
सोही अवसरमा प्रदेश सभा सदस्य राजिव पहारी,प्रभा कोईराला,प्रह्माकुमारी राजयोगीनी प्रनिता दिदज्यू लगाएतले बोल्नुभएको थियो ।






