पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा
वातावरण मन्त्री विकास लम्सालले औद्योगिक विकास बिना मुलुकको आर्थिक
समृद्धि हासिल हुन नसक्ने बताएका छन् ।
आइतवार पर्वतको मोदी
गाउँपालिका स्थित पातीचौरमा संचालित मोदी कोसेली तथा सौगात घरको उद्घाटन
गर्दै मन्त्री लम्सालले निर्वाहमुखि खेती र सानो परिमाणको उत्पादनले
कहिल्यैपनि आर्थिक प्रगति गर्न नसकिने बताए । उनले घरलु तथा लघु उद्यमलाई
व्यावसायिक बनाईनेगरी सरकारले बजेट बिनीयोजन गरेको बताए ।
गाउँगाउँमा सञ्चालित उद्यमहरुलाई आवश्यक पुँजी, प्रविधि र सिप दिएर
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने खालका बस्तु तथा
सामाग्री उत्पादन गरिने उनको भनाई रहेको छ । उहाँले गण्डकी प्रदेश
पर्यटनको राजधानी भएकाले यहाँ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकलाई
स्थानीय उत्पादन विक्रि गरेर प्रसस्त आम्दानी गर्न सकिने बताए । उनले यसका
लागि प्रदेशका तीन स्थानमा यस्ता खालका सौगात गृह संचालन गरिने बताए ।
मुग्लीन, पोखरा बिमानस्थल र राम्दीमा तीनवटा यस्तौ कोसेली घर संचालन गरिने र
त्यसका लागि सरकारले रु ६० लाख रुपैया बिनीयोजन गरेको बताए ।

मन्त्री लम्सालले अहिले आन्तरिक भ्रमण वर्षको रुपमा मनाईएको र
यस वर्ष पन्ध्र लाख भन्दा बढि पर्यटक प्रदेशमा भित्र्याउने लक्ष्य रहेको
बताउँदै सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउनेगरी तयारी भैरहेको समेत
जानकारी दिए । अब यो प्रदेशको विकास र समृद्धिका लागि पर्यटनलाई पहिलो
प्राथमिकतामा राखेर उद्योग, जडिबुटी र उर्जाको समेत एकीकृत विकासमा सरकारले
ध्यान दिएको उहाँको भनाई रहेको छ । उनले अब बायुपंखी गतिमा प्रदेशको विकास
हुने बताए ।
सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका संयोजक
मनोहर बी पौडेलले यस्ता खालका कोसेली घरले घरेलु तथा साना उद्यमीहरुलाई
प्रोत्साहन मिल्ने बताउँदै जिल्लाका सातवटै स्थानीय तहमा विस्तार गर्न
जरुरी रहेको बताए । उनले बढ्दो युवा पुस्ताको पलायनलाई रोकेर गाउँगाउँमा
उद्यम स्थापना गर्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जुनसुकै बस्तु तथा सामान
उत्पादन गर्ने उद्यमी वा कृषकका लागि अब बजारको समस्या नहुने बताए । उनले
कृषकलाई व्यावसायिक कृषितर्फ र घरेलु तथा साना उद्यमीलाई मझौला उद्योग
संचालन गर्नका लागि गाउँपालिकाले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता
समेत जनाए ।

पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले लघु तथा
घरेलु उद्यमीहरुद्धारा उत्पादित बस्तुको विक्रि वितरणलाई पहिलो प्राथमिकता
दिने बताए । उनले यस क्षेत्रमा उत्पादित बस्तुहरु राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता
समेत जनाए ।
सौगात गृह संचालनका लागि मोदी गाउँपालिका र
गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक सहयोग
गरेको कोसेली घरका संचालक चन्द्र विकले जानकारी दिए । उनले गाउँपालिका
भित्रका जुनसुकै स्थानमा उत्पादित बस्तु तथा सामानको विक्रिका लागि समस्या
नहुने उनको भनाई छ ।
गण्डकी प्रदेशको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय र मोदी
गाउँपालिका द्धारा संयूक्तरुपमा प्रवद्र्धित मोदी कोशेली तथा सौगात घरमा
घरेलु तथा साना उद्योगी द्धारा उत्पादीत वस्तुहरु अल्लो तथा ढाकाको
कपडा,जुता,कोट,ज्वारी कोट,साडी,मुडा,सिस्नो धुलो,अदुवाको अचार र क्याण्डी
लगाएतका सामाग्रीहरु राखिएको छ । गण्डकी प्रदेश सरकारले पोखरा सहितका अन्य
शहरहरुमा पर्यटकहरुलाई केन्द्रित गरि कोशेली घर स्थापना गर्दै छ ।
मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले स्वागत गरेको कार्यक्रमको
संचालन प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले गरेका थिए ।






