पर्वत– ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव शुरु हुनु एक दिन अगाडि आज बिहान रेडियो दिदी बहिनीको आयोजनामा रक्तदान कार्यक्रम राखिएको छ । भोली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले औपचारिक रुपमा महोत्सवको उद्घाटन गर्दै हुनुहुन्छ भने त्यसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ११ बजे महोत्सव गर्न लागिएको बान्द्रबिंडी चौरमा रक्तदान गरिने छ । रक्तदान कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुहुनेछ ।
धेरै बिरामीहरुले अझै पनि रगतको अभावमा अकालमै ज्यान गुमाउन परेको भन्दै रेडियोले हरेक पटकको महोत्सवमा रक्तदान सहित निशुल्क स्वास्थ्य शिविर लगायतका प्रत्यक्ष फाईदा हुने कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
यसैबीच, रेडियोकी अध्यक्ष चापागाईँका अनुसार २५ गतेबाट शुरु हुने महोत्सवको लगभग सबैजसो तयारी पूरा भएको छ । महोत्सव हुने स्थानमा स्टेज निर्माणदेखि स्टल बनाउने, रमाईलो मेलाका लागि आवश्यक संरचना जडान गर्ने, कृषि प्रदर्शनी, बिभिन्न प्रतियोगिताहरुको तयारी अन्तिम चरणमा पुगेको छ । यस बिषयमा जानकारी दिन भोली बिहान ११ बजे रक्तदान कार्यक्रसंगै पत्रकार सम्मेलनको पनि आयोजना गरिएको रेडियोले जनाएको छ । रेडियोले हरेक बर्ष महिला महोत्सव आयोजना गर्दै आएको छ । अहिले ११ औँ महिला महोत्सव शुरु हुन लागेको भएपनि रेडियो स्थापना भएको भने नवौँ बर्ष हो ।
महोत्सवमा ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० रुपैयाँ मात्र लाग्ने छ । महोत्सवका अवसरमा यस बर्ष तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका साथै प्रथम दिदीबहिनी डान्स आईडल, खुल्ला दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाँकी प्रदर्शन प्रतियोगिता, जनप्रतिनिधि र संचारकर्मीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता लगायतका प्रतिस्पर्धाहरुको आयोजना गरिएको छ । २०६६ साल फागुन १४ गते एक सयौँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर रेडियोले प्रशारण शुरु गरेको थियो ।