
काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा अवरोध नगर्ने भएको छ। डा. केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले कांग्रेसले संसद बैठकमा अवरोध नगर्ने भएको हो।
डा. गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले यसअघि पटक पटक संसद बैठक अवरोध गर्दै आएको थियो। संसदमा आफूहरूले दिएको दबाबकै कारण तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सरकारले संघीय सरकार मातहत ल्याएको कांग्रेसका सांसद बद्री पाण्डेले बताए।
त्यसैले आइतबार बोलाइएको संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक अवरोध नगरिने उनले जानकारी दिए। संसद सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेपछि बस्नेगरी बोलाइएको छ।