नेपाल राष्ट्र बैंकको कर्मचारीका रूपमा व्यावसायिक जीवन सुरु गरेका थापा अहिले गण्डकी प्रदेशको राजनीतिमा परिचित नाम हुन्। राष्ट्र बैंकको जागिर, सानो व्यापार, अटोमोबाइल व्यवसाय, घरजग्गा कारोबार र उद्योग वाणिज्य क्षेत्रको नेतृत्व हुँदै उनले राजनीतिक यात्रा अघि बढाएका हुन्। दुईपटक प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभा सदस्य बनेका उनी दुई फरक कार्यकालमा प्रदेश सरकारको मन्त्रीसमेत बने।
सैनिक परिवारमा हुर्किएका थापाको प्रारम्भिक जीवन पोखराकै सामाजिक तथा व्यावसायिक वातावरणमा बित्यो। अध्ययन पूरा गरेपछि उनले रोजगारीको खोजी गर्दै बैंकिङ क्षेत्रमा प्रवेश गरे।
बैंकमा काम गर्दा आर्थिक गतिविधि, वित्तीय कारोबार र व्यावसायिक क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएको उनी आफैँले विभिन्न अन्तर्वार्तामा बताएका छन्।
तर जागिरबाट प्राप्त हुने आम्दानीले परिवारका आवश्यकता र भविष्यका योजनालाई सहज रूपमा पूरा गर्न नसकेको उनको अनुभव थियो। छोराछोरीलाई राम्रो शिक्षा दिने र परिवारको आर्थिक अवस्था सुधार गर्ने चाहनाले उनलाई जागिरभन्दा बाहिरको बाटो रोज्न प्रेरित ग¥यो।
२०६० सालमा राष्ट्र बैंकको जागिरबाट अवकाश लिएपछि उनले व्यवसाय सुरु गरे। नियमित जागिर छाडेर अनिश्चित व्यावसायिक क्षेत्रमा प्रवेश गर्नु उनका लागि जीवनको महत्त्वपूर्ण निर्णय थियो।
प्रदेशसभा सदस्य भएपछि थापा प्रदेशको कानुन निर्माण तथा संसदीय काममा सक्रिय भए। गण्डकी प्रदेशमा नयाँ प्रदेश संरचनालाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गर्नु पहिलो कार्यकालको महत्त्वपूर्ण जिम्मेवारी थियो। २०७८ सालमा उनी गण्डकी प्रदेश सरकारको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बने। उनको कार्यकालमा प्रदेशका लागि आवश्यक कानुन निर्माण, सञ्चार क्षेत्रको व्यवस्थापन र प्रदेशसभा सञ्चालनसँग सम्बन्धित विषयमा काम गर्ने जिम्मेवारी थियो। प्रदेश सरकारको पहिलो कार्यकालमा कानुन निर्माणसँगै संघीयता कार्यान्वयन, प्रदेशको अधिकार र संस्थागत संरचना स्थापित गर्ने विषयमा समेत उनको महत्त्वपूर्ण भूमिका रहयो ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले थापालाई पुनः कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट उम्मेदवार बनायो। यसपटक उनले नेकपा एमालेकी उम्मेदवार मीना गुरुङलाई पराजित गर्दै दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भए। दोस्रो कार्यकालमा उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगे। मन्त्रालयको संरचना र जिम्मेवारी परिवर्तनसँगै उनले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गरे।यस मन्त्रालयअन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक विकास, युवा तथा खेलकुदसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी थियो। खेलकुद पूर्वाधारको विकास, खेलाडीको क्षमता अभिवृद्धि, युवा लक्षित कार्यक्रम, स्वास्थ्य सेवा र सामाजिक सुरक्षासँग सम्बन्धित विषय उनको मन्त्रालयको कार्यक्षेत्रमा पर्दथे।मन्त्रीका रूपमा उनले यी क्षेत्रमा नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले। उनको कार्यकालको मूल्यांकन गर्दा मन्त्रालयले सञ्चालन गरेका कार्यक्रम, बजेट खर्च, सेवा प्रवाह र नागरिकले प्राप्त गरेको प्रत्यक्ष लाभलाई आधार बनाउनुपर्ने हुन्छ। जसअन्तर्गत गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री हुँदा थापा कै पहलमा पोखरामा दीर्घकालीन पुनः स्थापना केन्द्र संचालनमा आयो । पोखरा महानगरपालिका वडा नम्बर ३३ पुष्पबस्तीमा निर्माण भएको केन्द्र सञ्चालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबिच समझदारी भए पनि कार्यान्वयनमा ढिलो भएको थियो । लामो अन्योलपछि केन्द्र संचालनमा आएको दीर्घकालिन पुनःस्थापना केन्द्रमा घर–परिवार तथा समाजबाट समस्या भोगेका किशोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरूले उद्धार गरी केन्द्रमा राखिएको छ ।
उनको समयमा नै गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्र संचालनमा आयो । पोखरा–८ सिमलचौर कास्कीको श्री राम आधारभुत विद्यालयमा स्थापना भएको गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्रमा कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यसहित केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक, अपाङगता सम्बन्धि विधेयक र दलित अधिकार सम्बन्धि विधेयक पारित लगायत अन्य थुप्रै जनताले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने कामहरु थापा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री हुँदा नै भएका महत्वपूर्ण काम हुन् ।
मन्त्री तथा सांसदको सेवा सुविधा सामाजिक काममा खर्च
२०७८ सालदेखि नै आफूले राज्यबाट प्राप्त गर्ने तलब, भत्ता र अन्य सेवा सुविधा व्यक्तिगत प्रयोजनमा नभई सामाजिक काममा खर्च गर्ने घोषणा गरेको उनले बताउँदै आएका छन्।
हालसम्म उनले ९० लाख भन्दा बढी रुपैयाँ सामाजिक काममा खर्च गरेका छन् । केही समय अघि मात्र भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग पुग्ने गरि प्रधानमन्त्री राहत कोषमा ५ लाख समेत व्यक्तिगत रुपमा उनले सहयोग गरेका छन् । थापाले यसरी सहयोग गरेको रकम मार्फत क्यान्सर तथा मुटुरोगीको उपचार, विपन्न परिवारलाई सहयोग, खानेपानी आयोजना, सडक निर्माण तथा मर्मत, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, खेलकुद प्रतियोगिता, महिला समूह, युवा क्लब, सामाजिक भवन निर्माण र विपद्मा परेका परिवारलाई राहत मिलेको छ । उनी प्रदेश सरकारबाट प्राप्त निवास सुविधा प्रयोग नगरी आफ्नै निवासमा बस्दै आएका छन् । जनप्रतिनिधिले प्राप्त गर्ने सेवा सुविधालाई नागरिकको आवश्यकतासँग जोड्ने उनको यो अभ्यास सार्वजनिक चर्चाको विषय बनेको छ।
तर उनको राजनीतिक तथा सार्वजनिक जीवनलाई केवल सामाजिक सहयोगको विवरणबाट मात्र मूल्यांकन गर्न मिल्दैन। प्रदेशसभा सदस्य र मन्त्रीका रूपमा उनले सम्हालेका जिम्मेवारी, नीतिगत निर्णय, मन्त्रालयको कार्यसम्पादन र गण्डकी प्रदेशका सबै जिल्लामा भएका विकास निर्माणका काम पनि उनको राजनीतिक मूल्यांकनका महत्वपूर्ण आधार हुन्।






