पर्वतको पैँयूमा हाईटेक टनेल तथा स्मार्ट कृषि बजार परियोजना सञ्चालन हूँदै - News site from Nepal

पर्वत –  गण्डकी प्रदेश सरकार र पर्वतको पैयूँ गाउँपालिकाबीच महिला नेतृत्वमा हाईटेक टनेल तथा स्मार्ट कृषि बजार व्यवस्थापन परियोजना सञ्चालनका लागि द्विपक्षीय सम्झौता भएको छ ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पैयूँ गाउँपालिकाबीच बुधबार परियोजना सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
कुल एक करोड ४३ लाख ६१ हजार पाँच सय ४० रुपैयाँ लागत अनुमान गरिएको परियोजना प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा सञ्चालन हुनेछ । परियोजनाका लागि गण्डकी प्रदेश सरकारले एक करोड छ लाख ६१ हजार पाँच सय ४० रुपैयाँ तथा पैयूँ गाउँपालिकाले ३७ लाख रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा गण्डकी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थराज चिलुवाल र पैयूँ गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी भण्डारीले हस्ताक्षर गरेका हुन् ।
परियोजनाको मुख्य उद्देश्य आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत बेमौसमी तरकारी खेतीको विस्तार तथा उत्पादन वृद्धि गर्नु, महिला कृषक समूहको छनोट र परिचालन गर्नु तथा कृषकको उत्पादन र आम्दानी बढाउनु रहेको छ । यससँगै कृषि उत्पादनको बजारीकरणलाई व्यवस्थित बनाउने र प्रविधिमैत्री कृषि प्रणालीको विकास गर्ने लक्ष्य लिइएको छ ।
परियोजनाअन्तर्गत हाईटेक टनेल निर्माण, कृषकको क्षमता अभिवृद्धि, कृषि उत्पादन तथा बजार व्यवस्थापनसम्बन्धी सफ्टवेयर (वेब तथा एप) विकास र कार्यान्वयन, बजार प्रवद्र्धन, कृषि उपज सङ्कलन केन्द्र स्थापना तथा हाटबजार सञ्चालनजस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
परियोजनाबाट बेमौसमी तरकारी उत्पादन प्रणालीको संस्थागत विकास हुनुका साथै उत्पादनमा निरन्तरता आउने अपेक्षा गरिएको छ । त्यस्तै, कृषकको उत्पादन क्षमता वृद्धि, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बिक्री वितरण र बजारसम्म सहज पहुँच स्थापित हुने विश्वास गरिएको छ ।
महिलाको नेतृत्वमा सञ्चालन हुने यस परियोजनाले कृषि क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व क्षमता बढाउनुका साथै स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राजले बताए । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
आधुनिक कृषि प्रविधि, उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई एकीकृत गर्दै सञ्चालन गर्न लागिएको यो परियोजनाले पैयूँ गाउँपालिकाको कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!