
माधब पराजुली,पोखरा
विश्व सिमसार दिवसका अवसरमा फेवाताल किनारामा बृहत् रुपमा सरसफाई गरिएको छ । पोखरा उपत्यका बृहत् सरसफाइ अभियानको आयोजनामा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको उपस्थितीमा शनिवारर फेवाताल किनारामा सरसफाई गरिएको हो ।
सिमसार क्षेत्रको संरक्षण तथा सौन्दर्यकरण गर्ने उद्देश्यका साथ आयोजित सरसरफाईका क्रममा डुंगामा चढेर फेवातालको फोहोर उठाउदै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सिमसार क्षेत्र जोगाउन तथा सदा निर्मल राख्न स्थानियवासी निरन्तर लागिपरिरहनुपर्ने बताउदै दैनिक प्रयोगमा आई जथाभावी फ्याकिएका प्लास्टिकजन्य वस्तुले सिमसार क्षेत्र पुरिन थालेको तथा दुर्गन्धित हुन थालेकोले यसको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायू परिर्वतन विश्वव्यापी चुनौती रहेका बेला यस बाट उत्पन्न जोखिम न्यूनिकरण र परिवर्तित अवस्थामा अनुकुलनका लागि सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापनमा सक्रियपुर्वक लाग्नुपर्ने बताउनुभयो । सिमसार क्षेत्र जैविक विविधताको हिसावले धनी र पर्यापर्यटनको सम्भावना बोकेको क्षेत्र भएको उहाँको भनाई थियो ।

सोही अवसरमा गण्डकी प्रदेशकां उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सीमसार जोगाउन गण्डकी सरकारले नेपालमै पहिलो पटक ताल प्राधिकरण गठन गर्न लागेको जनाउदै गण्डकी प्रदेशका सीमसार क्षेत्रको पहिचानका लागि रु. ५० लाख विनियोजन गरिएको बताउनुभयो । गण्डकी प्रदेशको भविष्य तालमा रहेकोले यसको संरक्षण र व्यवस्थापन गर्न सबैको जिम्मेवारी उत्तिकै रहने उहाँको भनाई थियो ।
गठन हुने प्राधिकरण मार्फत प्रदेश सरकारले ढल ‘फिल्टर’, बाढी पहिरो जाने सम्भावित ठाउँको संरक्षणलगायत काम गर्ने बताउदै मन्त्री लम्सालले फेवाताल सधै सफा र स्वच्छ रहने दावी गर्नुभयो । जैविक विविधता संरक्षणका दृष्टिले मात्र नभएर जलवायु परिर्वतनका जोखिमहरुलाई न्यूनिकरण गर्न सिमसार क्षेत्र अत्यान्तै महत्वपूर्ण हुने उहाँको भनाई थियो ।
सिमसार दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाले संयूक्त रुपमा पोखरामा कार्यक्रम समेत आयोजना गरेका थिए । सोही अवसरमा बिभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।