पर्वत- स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्वतले भोली कुश्माबजारमा आयोजना गरेको बृहद जनसभाको तयारी पुरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागि हुने बृहद जनसभाको सवैजसो तयारी पुरा भएको हो ।
कुश्माको बान्द्रेबिडी खुल्ला मञ्चमा कार्यक्रम गरिने भएको छ । जनसभाका लागि मञ्च व्यवस्थापन, बजार तथा कार्यक्रम स्थल साजसज्जा , सवारी व्यवस्थापन, स्वयंसेवक, आवास, खाना, झाकी र्याली लगायतका तयारी पुरा भएका छन् ।
भोली दिउँसो १ बजे जनसभाको उद्घाटन हुने गरिने भएको छ । जसका लागि अध्यक्ष ओली हेलिकप्टरमार्फत कुश्मा बजार आईपुग्नुहुनेछ । शसस्त्र प्रहरीको खेल मैदानमा हेलिकप्टरवाट झरेपछि अध्यक्ष ओलीलाई युवा संघको बाईक र्यालीको स्कटिङमा कार्यक्रम स्थलमा ल्याईने भएको छ । अध्यक्ष करिब तीन घण्टा कार्यक्रममा रहनुहुने भएको छ । उहाँले जिल्लामा ठुलो संख्या नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको छ । जनसभामा जिल्लाभरवाट कम्तिमा २० हजार कार्यकर्ता तथा नागरिकहरुको सहभागिता रहने जनसभा मुल व्यवस्थापन समिति संयोजक शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्लाको वाँसखर्कदेखि टकलाक सम्म सवारी साधनको व्यवस्था गरिएको र कार्यक्रममा सहभागि हुन स्वत स्फुर्त रुपमा जिल्लाभरवाट नेता तथा कार्यकर्ताहरु सहभागि हुन आव्हान गर्दै निमन्त्रण पत्र समेत बाँडिएको उहाँले बताउनुभयो ।
जनसभाको सवै तयारी पुरा भएपछि शुक्रवार साँझ पत्रकार सम्मेलन गरी भोलीको कार्यक्रम बारे जानकारी दिईएको हो । आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा एमालेले बिजयी हुने संकेत जिल्लाभर फैलाउनका लागि जनसभा आयोजना गरिएको नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले बताउनुभयो । उहाँले जनसभापछि जिल्लाभर एमालेको पक्षमा ब्यापक जनलहर पैदा हुने भएको छ ।
अघिल्लो निर्वाचनमा जारी घोषणापत्र अनुसारका काम एमालेले सम्पादन गरेको र मुलुकको समृद्धि र विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेकाले जनताले एमालेलाई नै बिजयी गराउने उहाँको भनाई रहेको छ । जनसभामा कुस्मा नगरपालिकाबाट मात्रै ५ हजार जनतालाई सहभागि गराउने लक्ष्य एमालेले राखिएको छ भने जलजला र मोदी गाउँपालिका तथा फलेबास नगरपालिकाबाट ३/३ हजार जनसहभागिता जुटाईने छ । महाशिला, बिहादी र पैंयुबाट पनि १ हजारका दरले सहभागिता गराउने तयारी भएको मुल समितिका संयोजक पौडेलले जानकारी दिनुभयो ।
पर्वतमा बाहेक छिमेकी बागलुङ्ग र म्याग्दीबाट गरि ५ हजार भन्दा बढी सहभागि गराउने तयारी भएको छ । उक्त सभामा पर्वतको संस्कृति झल्कने गरि पञ्चेबाजा, भजन, सोरठी, लाखेनाँच, हनुमान नाँच लगायतका साँस्कृतिक झाँकी समेत देखाउने तयारी छ ।
यसैबीच जनसभाको पूर्व संध्यामा कुश्माबजारमा आज साँझ बाईक र्याली र अखिल नेपाल महिला संघको आयोजनामा जुलुस समेत प्रदर्शन गरिएको थियो ।