
पर्वत- शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता कुश्मामा सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा जिल्लास्तरीय युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत कुश्मा नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बक्तृत्वकला प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा कुश्मा नगरपालिकाका सामाजिक विकास समिति संयोजक शिवप्रसाद पौडेलले युवाहरुको प्रतिभा उजागर गर्ने एवम् उनीहरुको नेतृत्व र व्यत्तित्व विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता राखिएकोमा सक्रियतापूर्वक सहभागी भएकोमा युवाहरुलाई धन्यवाद दिनुभयो । उहाँले समाजको रुपान्तरणमा शिक्षित युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले युवाहरुले कुलतमा नलागिकन रचनात्मक बन्न सुझाव समेत दिनुभयो ।
बक्तृत्वकला प्रतियोगितामा नमुना आवासीय माविका निरुता शर्मा प्रथम, शिवालय माविका शान्ति फगामी पुन मगर द्वितीय, नारायण माविका निशा आचार्य तृतीय र शिवालय माविका इन्द्र न्यौपानेले सान्तवना स्थान प्राप्त गरेकाछन् । पुरस्कृत युवाहरुलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव विष्णुप्रसाद तिवारीले सकारात्मक सोच, चिन्तन र दृष्टिकोण भएका शिक्षित युवाले नै मुलुकको मुहार फेर्न सक्ने भएकाले युवाहरु इमान्दार भएर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीले युवा वर्ग आजको समाजका बलिया खम्बा र भविश्यका भरोसायोग्य नागरिक बन्नका लागि शिक्षित र दीक्षित बन्नुपर्ने खाँचो औल्याउनुभयो ।
बक्तृत्वकला प्रतियोगिताको समग्र सहजीकरण नगर शिक्षा अधिकृत दीपक सुवेदी र शिवालय बहुमुखी क्याम्पसका उपप्राध्यापक आनन्द पौडेलले गर्नुभएको थियो भने निर्णायकको भूमिका उपसचिव बिष्णुप्रसाद तिवारी, राजेन्द्र पहाडी र कुलचन्द्र पौडेलले गर्नुभएको थियो ।