पर्वत २४ भदौ : निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्वतले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीवाट पिडित नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि साढे नौ लाख रुपैया भन्दा बढि आर्थिक सहयोग गरेको छ ।
जिल्लाभर संचालित निजि विद्यालयहरुको तर्फवाट नौ लाख ६७ हजार चार सय ४५ रुपैया रकम संकलन गरी सहयोग गरिएको प्याब्सन पर्वतले जनाएको छ । प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेलका अनुसार उक्त रकम प्याब्सनको केन्द्रीय समितिमा रहेको राहत कोषमा जम्मा गरिएको र केन्द्रले संयुक्त रुपमा प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।
हिमालयन सुनामीवाट आईपरेको महाविपत्तिमा निजि विद्यालयहरुको तर्फवाट पनि आवश्यक सहयोग गर्नु दायित्व हो भन्ने ठानेर उक्त रकम संकलन गरिएको हो । निजि विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुवाट रकम संकलन गरिएको थियो । शिक्षकको एक दिनको तलब, विद्यालयवाट रु पाँच हजार देखि दश हजार सम्म र विद्यार्थीवाट स्वेच्छिक रुपमा रकम संकलन गरिएको हो ।
जिल्लाका २५ वटा निजि विद्यालय मध्ये सवैभन्दा एक लाख एक सय ११ र सवैभन्दा कम पाँच हजार रुपैया संकलन भएको प्याब्सन पर्वतका सचिब भोलाराज सुवेदीले जानकारी दिनुभयो ।
२५ वटा विद्यालय मध्ये तीन वटा विदालय, शहिद स्मारक बोर्डिङ्ग स्कुल, इर्मोटल सेक्रेट बोर्डिङ्ग स्कुल, र पर्वत बोर्डिङ स्कुलले गरी एक लाख ४९ हजार तीन सय ७२ रुपैया पहिल्यै प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रकम जम्मा गरेको थिए भने २२ वटाको संयुक्त रुपमा प्याब्सन केन्द्रीय समितिको राहत कोषामार्फत सरकारलाई उपलव्ध गराउनेगरी पठाईएको सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीहरुवाट स्वतस्फुर्त रुपमा उक्त रकम सहयोग भएको हो । मानविय सेवाका लागि सवैजनाबाट उत्साहजनक रुपमा रकम संकलन भएको सुवेदीले जानकारी दिनुभयो ।
पर्वतका निजि विद्यालयमा तीन सय भन्दा बढि शिक्षक, कर्मचारी कार्यरत रहेका छन् भने आठ हजार भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् । पर्वतको महाशिला गाउँपालिका बाहेक छ वटा स्थानीय तहमा निजि विद्यालय संचालनमा रहेका छन् ।
यस अघि जिल्लाका सात स्थानीय तह, जिल्ला समन्वय समिति, विभिन्न व्यक्ति, संघ संस्था, समुह लगायतवाट झण्डै एक करोडको हाराहारीमा प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको थियो । इतिहासमै सवभन्दा ठुलो बाढीको महाविपत्तीमा नागरिकहरुले सरकारलाई खुलेर आर्थिक सहयोग गरेको सामाजिक अभियन्ताहरुले जानकारी दिएका छन् ।






