रामचन्द्र भुसाल
फलेवास, पर्वत – बालबालिकाको स्वास्थ्यलाई सुदृढ बनाउँदै उनीहरूको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले पर्वतको फलेवासमा सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न भएको छ।
बाल्यावस्था शारीरिक तथा मानसिक विकासको महत्वपूर्ण चरण भएकाले यस उमेरमा बालबालिकाको स्वास्थ्य, पोषण र रोगप्रतिरोधात्मक क्षमतामा विशेष ध्यान दिन आवश्यक हुन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वतको आयोजनामा भदौ २३ गते मंगलबार स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरिएको हो।
बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको कार्यक्रममा फलेवास नगरपालिकाभित्रका विभिन्न वडाबाट आएका २१७ जना बालबालिकाले स्वर्णविन्दु प्राशन सेवा लिएका थिए। बिहानैदेखि बालबालिकालाई लिएर अभिभावकहरू कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा स्वर्णविन्दु प्राशनको महत्वबारे जानकारी दिँदै वरिष्ठ कविराज नवीन किशोर भुसालले बालबालिकाका लागि स्वर्णविन्दु प्राशन महत्वपूर्ण र फलदायी रहेको बताउनुभयो। उहाँका अनुसार बालबालिकाको स्वास्थ्य प्रवर्द्धन, रोगसँग लड्ने क्षमताको विकास तथा समग्र शारीरिक–मानसिक विकासमा आयुर्वेदिक स्वास्थ्य सेवाको भूमिका महत्वपूर्ण रहन्छ।
कार्यक्रमले बालबालिकालाई सेवा प्रदान गर्नुका साथै अभिभावकमा बाल स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमता र आयुर्वेदिक उपचार पद्धतिप्रति सकारात्मक चेतना अभिवृद्धि गर्नसमेत सहयोग पुगेको आयोजकको भनाइ छ।
कार्यक्रममा आफ्ना बालबालिकालाई सहभागी गराएका अभिभावकहरूले सेवा प्रभावकारी र उपयोगी रहेको प्रतिक्रिया दिँदै प्रदेश आयुर्वेद चिकित्सालय तथा आयोजक परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए। उनीहरूले बालबालिकाको स्वास्थ्यलाई केन्द्रमा राखेर सञ्चालन गरिने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
फलेवासका विभिन्न वडाबाट उल्लेख्य संख्यामा बालबालिकाको सहभागिता हुनुले समेत बाल स्वास्थ्यप्रति अभिभावकको चासो बढ्दै गएको देखाएको छ। स्वास्थ्य प्रवर्द्धनसँगै आयुर्वेदिक उपचार तथा जीवनशैलीबारे समुदायस्तरमा जानकारी विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रदेश आयुर्वेद चिकित्सालय, फलेवासले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि स्वास्थ्य प्रवर्द्धन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






