पर्वत २४ भदौ : मोदीखोलाका सहायक मानिने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरोका कारण थुनिएको भनिएको किम्रुङ खोला पुरानै लयमा बग्न थालेको छ ।
पहिरोले लामो समय थुनिएपनि बिस्तारै बगेपछि बाढीको जोखिम टेको स्थानीयले बताएका छन् । अन्नपूर्ण गाउँपालिका वडा नं. ११ का वडा सदस्य जगनबहादुर गुरुङका अनुसार राति एक बजेदेखिनै खोलाको बहाव सामान्य अवस्थामा आएको हो ।
खोला थुनिएको भनिएको वास्तविक स्थानको अवस्था पत्ता लगाउन नसकिएको भएपनि जोखिम भने टर्दै गएको उहाँको भनाई छ । टेलिफोन सम्पर्कका क्रममा सम्बन्धित क्षेत्रमा मोबाइल टावरको समस्या रहेकाले त्यहाँ रहेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्क हुन नसकेको वडा सदस्य गुरुङले जानकारी दिनुभयो ।
किम्रोङखोला थुनिएपछि आकस्मिक रुपमा बाढी आउने भयले कास्कीको बिरेठाँटी, सेउलीबजार, नयाँपुल र पर्वतको डिमुवा, पातीचौरका बासिन्दा रातभर जाग्राम बसेका थिए । मोदीखोलामा खासै बाढी आउने नदेखेपछि विहानदेखि जनजीवन सामान्य रुपमा फर्किएको पातीचौरकी स्थानीय गंगा तिमिल्सिनाले बताउनुभयो ।
यसअघि गएराती जिल्ला प्रहरी कार्यालय पर्वत र कास्कीले किम्रुङ खोलामा पहिरो गएर खोला थुनिएको जानकारी प्राप्त भएको भन्दै मोदीखोला आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै माईकिङ गरेका थिए । प्रहरीको माईकिङपछि उक्त क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेको जनाएका छन् ।
यसअघि गत यो वर्षनै मोदीखोलामा दुईपटक ठुलो बाढी आईसकेको छ । बाढीले मानविय क्षति नभएपनि तीनवटा झोलुङ्गे पुल, केहि घर र बिरेठाँटी स्थित घान्द्रुकतर्फ जाने एक सय मिटर सडक बगाएको थियो ।






