फलेवासमा जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न, कालीगण्डकीले चुम्यो उपाधि - News site from Nepal

पर्वत– स्क्राबल क्लव पर्वत र माझीगाउँ आधारभूत विद्यालय फलेवासको संयुक्त आयोजनामा आयोजित छैठौं जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका १० विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कालीगण्डकी एकेडेमीले लगातार तेस्रो पटक च्याम्पियनको उपाधि हात पारेको छ । यसअघि चौथो र पाँचौं जिल्लास्तरीय च्याम्पियनसिपको उपाधि दिविशा थापाले जितेकी थिइन् । यसपटक भने छैठौं जिल्लास्तरीय च्याम्पियनसिपको उपाधि समृद्धि जोशीले जित्दै इतिहास रचेकी छन् ।
प्रतियोगितामा आदर्श आवासीय माध्यमिक विद्यालय, कुश्माका शाहिल गिरी द्वितीय भएका छन् भने नमुना आवासीय माध्यमिक विद्यालयका न्युसन श्रेष्ठ तृतीय भएका छन् ।
त्यस्तै आदर्श आवासीय माध्यमिक विद्यालयका दिप्सन पौडेल र नमुना आवासीय माध्यमिक विद्यालयका सक्षम रेग्मी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताबाट छनोट भएका विजेताहरू आगामी कात्तिक महिनामा बुटवलमा आयोजना हुने १२औँ राष्ट्रिय स्क्राबल प्रतियोगितामा सहभागी हुन सफल भएका छन् ।

उक्त अवसरमा विक्रम थापाको संयोजकत्वमा सात सदस्यीय स्क्राबल क्लब पर्वतको कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिका सदस्यहरूमा सन्तोष थापा, यमनाथ पौडेल, उमा गुरुङ, लालु बसेल, वविना श्रेष्ठ र तुलसी श्रेष्ठ रहेका छन् ।
जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिताले स्क्राबल खेलप्रतिको आकर्षण बढ्दै गएको देखाएको छ । प्रतियोगिताले विद्यार्थीहरूको शब्दज्ञान, भाषिक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
माझीगाउँ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डोलनाथ भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फलेवास नगरपालिकाका नगर शिक्षा अधिकृत कृष्ण आचार्य प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै स्क्राबल क्लब नेपालका अध्यक्ष केशव पराजुली, महासचिव नवीन पन्त तथा सल्लाहकार हिमबहादुर पौडेल क्षेत्री विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
कार्यक्रम सञ्चालन स्क्राबल क्लव पर्वतका संयोजक विक्रम थापाले गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक विनादेवी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कृष्ण आचार्य तथा विशिष्ट अतिथिहरूले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!