पर्वत – परम्परागत र रैथाने बालीनालीको संरक्षणका लागि पर्वतमा अभियान थालिएको छ । कृषि ज्ञान केन्द्र पर्वतको सक्रियतामा खेतीबालीमा विषादी निरुत्साहित गर्दै रैथाने बालीको संरक्षण गर्ने अभियान शुरु गरिएको हो ।
जैविक (अर्गानिक) उत्पादन जिल्ला सङ्घ गठन गरेर बालीनाली संरक्षणमा सक्रियता बढाएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । पर्वत र वागलुङ जिल्लाका अर्गानिक उत्पादक कृषक समेटेर अर्गानिक उत्पादक जिल्ला कृषक सङ्घ गठन गरिएको हो ।
वागलुङ जिल्लाका १० स्थानीय तहका अगुवा अर्गानिक कृषक र पर्वत जिल्लाका सात स्थानीय तहका अगुवा कृषकको भेलाले १९ सदस्यीय समिति गठन गरेको छ ।
ग्रामीण भेगमा पाइने पुराना जातका बाली तथा अन्नको उत्पादन बढाउन र रासायनिक मल र विषादी प्रयोग हटाउँदै प्राङ्गारिक मलखाद प्रयोग गरेर उत्पादन बढाउन समिति गठन गरिएको समितिका अध्यक्ष ऋषिराम भुसालले बताउनुभयो । बालीनालीमा पुरानै चक्र फर्काउन समितिले स्थानीय हावापानीमा पाइने बालीनाली पहिचान र प्रवद्र्धन गराउन पहल गर्ने भुसालले बताउनुभयो ।
बागलुङ जिल्लाका निसीखोला, काठेखोला, ढोरपाटन, गलकोट, जैमुनीजस्ता विकट बस्तीमा उत्पादन हुँदै आएको अन्नपातको पहिचान र त्यसको पुरातन प्रवद्र्धन पद्धति कायम राख्न अर्गानिक समितिको आवश्यक रहेको ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।
यस्तै पर्वतका उच्च भेगीय वस्तीहरुमा उत्पादन हुने आलु, फापर, उवा, जौ, ढकायो, कोदो, धान, जुनेलो, पिडालु, मकै जस्ता रैथाने उत्पादनलाई संरक्षण गर्न पनि समिति सक्रिय रहने समितिका पदाधिकारीहरुले प्रतिबद्धता गरेका छन् ।
समितिमा १७ स्थानीय तहलाई समेटिने गरी १९ सदस्य कायम गरीएको छ । पाँच सल्लाहकारसमेत राखिएको छ । समितिको अध्यक्षमा ऋषिराम भुसाल, उपाध्यक्षमा नरुमती पुन, सचिवमा चीरनकुमार घर्तीमगर, कोषाध्यक्षमा थानेश्वर भुसाल रहनुभएको छ ।
समितिले पर्वत र वागलुङ जिल्लामा हुने रैथाने बाली प्रवद्र्धन गर्ने निर्णयसमेत गरेको छ । बालीनाली प्रदर्शन पनि गर्ने र रैथाने बाली संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने ज्ञान केन्द्रले जनाएको छ । समितिको पाँच वर्षे कार्यकाल रहेको छ ।






