पर्वत २४ भदौ : पर्वतको कुश्मा नगरपालिका अन्तर्गत वडा नं. १३ पर्ने सेताढुंगा–चनौटे–सालघारी–अर्घसे–लाकुरी आधारभुत विद्यालय सडक कार्यान्वयनमा खौलालाकुरी बासीले कुश्मा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
चालु आर्थिक वर्षमा स्तरोन्नतीका लागि समपुरक अनुदान अन्तर्गत बजेट बिनीयोजन भएको उक्त सडक सेताढुंगातर्फदेखि काम थाल्न उनिहरुले माग गरेका हुन् । नगरपालिकामा बिकास र बजेटका दृष्टिकोणले पछाडी परेको १३ नम्वर वार्डमा यस वर्ष परेको उक्त योजनालाई सालघारीतर्फवाट काम गर्नुपर्ने गुनासो आएको भन्दै स्थानीयले उक्त बजेट खौलालाकुरीभित्रै कार्यान्वयन गर्न दबाब दिएका हुन् ।
वडा नं. १३ का वडा अध्यक्ष तेजप्रसाद शर्मा चापागाईको नेतृत्वमा आएको स्थानीवासीको टोलीले कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकिय अधिकृत किरण पौडेलको ध्यानाकर्षण गराउँदै बिकासमा पछाडी परेको खौलालाकुरीतर्फवाटै बजेटको कार्यान्वयन अघि बढाउन जोड दिएका हुन् ।
उनिहरुले जिरोवाट काम गर्ने नाममा बजेट शिर्षकमा नाम समावेश भएको पिपलटारीको सालघारीतर्फवाट काम शुरु गरिए योजना कार्यान्वयननै गर्न नदिने चेतावनी समेत दिएका छन् । केहि दल निकट व्यक्तिहरुको दबाबमा नगरपालिकाले निर्माणकार्य परिवर्तन गर्न सक्ने आशंका रहेपछि गाउँलेहरु एकजुट भएर नगरपालिकामा आउनुपरेको वडा अध्यक्ष चापागाईले जानकारी दिनुभयो ।
उक्त सडक स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा ५५ लाख, ४४ हजार रुपैया बिनीयोजन भएको छ । कुश्मा नगरपालिकाले यहि भदौ १८ गते सुचना प्रकाशन गरी टेण्डर समेत आव्हान गरिसकेको अवस्थामा खौलालाकुरी बासीले नगरपालिकामै आएर दबाब सिर्जना गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख रामचन्द्र जोशीले स्थानीयको माग र प्राविधकहरुको नापजाँचकै आधारमा सडक योजना कार्यान्वयन गरिने बताउनुभयो । उहाँले सेताढुंगातर्फबाटै निर्माण कार्य शुरु गरिने बताउँदै यसमा कुनै शंका नगर्न स्थानीयवासीहरुलाई आग्रह समेत गर्नुभएको छ । आफ्नोे टोल छिमेकमा गुणस्तरीय सडक बनाउने सवै नागरिकको चाहना हुने भएपनि नगरपालिकाले बजेट शिर्षक अन्तर्गतनै कार्यान्वयन गर्दै जाने उहाँको भनाई रहेको छ ।
वडा नं. १० को सालघारी सम्म सडक कालोपत्र भैसकेको छ । कतिपयले कालोपत्र भएकै तिरवाट काम गर्दै जानुपर्छ भन्ने दबाब दिएपछि उक्त बजेटले सेताढुंगासम्मनै काम गर्न नपुग्ने हुनाले आफुहरु खौलालाकुरी भित्रै काम गर्न दबाबका लागि नगरमा आउनुपरेको स्थानीय टिकाराम लम्सालले बताउनुभयो ।






