पर्वतको कुश्माबाट हराएकी महिला चार दिनपछि मृत फेला - News site from Nepal
पर्वतको कुश्माबाट हराएकी महिला चार दिनपछि मृत फेला

पर्वत २४ भदौ : पर्वतको कुश्माबजारबाट चार दिनदेखि हराएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जलजला गाउँपालिका वडा नं. ८ लुप्राङ घर भई हाल कुश्मा नगरपालिका–६ मैत्रीचोकस्थित राष्ट्रिय बालशिक्षा सदनमा कार्यालय सहयोगीका रूपमा कार्यरत ३७ वर्षीया शान्तिकुमारी रिमाल पाध्याको शव बुधवार कुश्मा नगरपालिका–५ खाल्टेदहस्थित मोदी खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार गत आइतवार बिहान करिब ६ बजे आफू बस्दै आएको विद्यालय भवनको कोठामा रिमाल नरहेको जानकारी पाएपछि खोजी सुरु गरिएको थियो । सोही दिन बिहान करिब साढे नौ बजे प्रहरीलाई खबर भएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।
खोजीका क्रममा कुश्मा नगरपालिका–९ ज्ञादीस्थित पुलमा रिमालले प्रयोग गर्ने चप्पल फेला परेको थियो । उक्त चप्पल उनका १६ वर्षीय छोरा सन्तोष चापागाईंले आफ्नी आमाको भएको सनाखत गरेका थिए । त्यसपछि मोदी खोला आसपासको क्षेत्रमा खोजीलाई तीव्र पारिएको थियो ।
महिलाको खोजीका लागि नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल नेपाल चण्डिका गण पर्वतबाट गोताखोर टोलीसमेत परिचालन गरिएको थियो ।
मंगलवार र बुधवार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ड्रोनको समेत प्रयोग गरी मोदी खोला आसपास खोजी गर्ने क्रममा दिउँसो साढे तीन बजे कुश्मा नगरपालिका–५ खाल्टेदहस्थित मोदी खोलाको किनारमा ढुङ्गाको खोचमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शव आफन्तले शान्तिकुमारी रिमाल पाध्याको भएको सनाखत गरेका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल पर्वतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!