पर्वत–हिन्दुहरुका आराध्यदेव भगवान शिब र देवी पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ती स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ पर्वतमा जेठ १ देखि ११ गते सम्म सञ्चालन हुने गरी महायज्ञ आयोजना गरिएको छ । महायज्ञको समय नजिकिँदै जाँदा त्यसको तिब्र रुपमा तयारी समेत भइरहेको छ ।
देवी पार्वतीको माइती घरका रुपमा परिचित पर्वतको पाङ सँगै विश्वकै लामो साततले गुफाका रुपमा चर्चित गुप्तेश्वर गुफा लगायत पर्वतका अन्य विभिन्न धार्मिक तिर्थस्थलहरुलाई समेटेर महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा आयोजना गरिने शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ को तयारी तीब्र पारिएको छ । देवी पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएकोे छ ।
शुक्रबार कुश्माबजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त विराट महायज्ञ तथा कोटीहुमका परिकल्पनाकार कथावाचक इश्वरकृष्ण जी महाराजले पर्वतलाई ऐतिहासिक धार्मिक स्थलका रुपमा विकास गर्ने महान उद्देश्यले आयोजना गरिएको महायज्ञलाई सफल बनाउनका लागि पर्वतबासी सवैको उत्तिकै भूमिका रहेको बताएका छन् । महाराजले पर्वतलाई वर्तमान अवस्थामा भन्दा पनि भविष्यलाई धार्मिक हिसावले उज्जवल क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यले महायज्ञ तथा कोटिहुमको आयोजना गरिएको बताए ।
११ दिन सम्म सञ्चालन हुने महायज्ञको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम रहेको छ । महायज्ञमा ६ हजार भन्दा बढी व्यक्तिद्वारा तुलादान तथा १ करोड अग्नी हुमन सञ्चालन हुनेछ । ‘हाम्रो मुख्य उद्देश्य यही हो’ महाराजले भने ‘यति कुरामा सफल भयौँ भने हामीले आँटेको बहुउद्देश्यीय धार्मिक कार्यले पूर्णता पाउँछ’
महायज्ञ आयोजक समितिले व्यवस्थापनका लागि पर्वत तथा बागलुङका विभिन्न पालिकाहरुमा पुगेर सहयोग समिति गठन गरेको छ । उक्त कार्यक्रममा श्रीमद् शिवपूराण सामुहिक तुलादान गुप्तेश्वर विराट महायज्ञ २०७६ का सल्लाहकार लोकनाथ आचार्य, अध्यक्ष पृथ्वीनारायण शर्मा, उपाध्यक्ष केदारनाथ शर्मा, सचिव अच्युत तिवारी, कोषाध्यक्ष कमलनाथ पोख्रेल तथा अन्य विभिन्न उपसमितिका संयोजकहरुले हालसम्म भएको कार्य प्रगति बारे जानकारी गराएका थिए । सोही कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले महायज्ञ सञ्चालनका क्रममा हुन सक्ने सुरक्षा संवेदनशीलतालाई आजैदेखि उच्च सतर्कता अप्नाइएको बताउँदै सुरक्षाको चिन्ता नगर्न आग्रह गरेका थिए । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले समेत महायज्ञलाई सफल बनाउनका लागि आफुहरु लागि परिरहेको बताएकी थिइन् ।
सोही कार्यक्रमको अवसरमा महायज्ञ आयोजक समितिको उपाध्यक्षमा कुश्मा बजारका समाजसेवी निर्मल विश्वकर्मालाई दलित समुदायबाट प्रतिनिधित्व हुने गरी चयन गरिएको थियो ।






