पर्वत – समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालाञ्जर पहाडमा अतिथि गृह निर्माण गरिएको छ ।
पर्वत जिल्लाको सवैभन्दा उचाईमा रहेको स्थानमा अवस्थित कालाञ्जर पहाडमा अध्ययन, अबलोकन र घुम्नका लागि आउने पर्यटकहरुलाई लक्षित गरि रु. एक करोड भन्दा बढिको लागतमा अतिथि गृह निर्माण गरिएको हो । एकै स्थानवाट झण्डै एक दर्जन जिल्ला सदरमुकामहरुको दृश्याबलोकन गर्न सकिने, विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पर्वतको जलजला गाउँपलिकाले आफ्नै बजेटबाट आठ कोठे पक्की भवन निर्माण गरेको छ । आठवटै कोठमा एट्याच बाथरुम सहित सुविधा सम्पन्न बनाईएको छ । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
पछिल्लो समय यहाँ धार्मिक तथा अध्ययन, अवलोकन र बिदाको समयमा घुम्न आउने पर्यटकको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको छ । धार्मिक हिसावले समेत उत्तिकै महत्वपुर्ण मानिने जलजलामा मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्यको आश्रम समेत रहेकाले उहाँका अनुयायीहरु समेत यहाँ पुग्ने गरेका छन् । गाउँदेखि झण्डै ६ घण्टाको पैदलयात्रा र तीन घण्टाको सवारीसाधनमार्फत पुग्न सकिने कालाञ्जरमा अन्य कुनै होटल सुविधा तथा बस्ती नभएकाले अतिथि गृह निर्माण गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार योग, ध्यान र साधनाका लागि आउनेहरुलाई मात्र नभएर सवै खालका पर्यटकलाई आश्रय सुविधा दिईने भएको छ । अहिले निशुःल्क रुपमा दिईएको आवास सुविधालाई निश्चित शुल्क तोकेरे दिने व्यवस्था गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । कालाञ्जरलाई धार्मिक मात्र नभई विज्ञान, प्रविधि तथा पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न समेत थालेको छ । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो ।
जलजला गाउँपालिका वडा नं. ५ र ६ मोदी गाउँपालिकाको वडा नं. को संगम स्थलमा रहेको कालञ्जर हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन संघीय, प्रदेश र गाउँपालिकाले संयुक्त रुपमा पूर्वाधार निर्माण थालेका हुन् । यस अघि भ्यूप्वाइन्ट, खानेपानीको व्यवस्था, शौचालय निर्माण र सडक स्तरोन्नति तथा विद्युतीकरण लगायतका सुविधा विस्तार गरिसकिएको छ ।






