पर्वतका सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुको विक्रि र उपभोग छ्याप्छ्याप्ती  - News site from Nepal
पर्वत– सामान्यतया सार्वजनिक स्थल, सरकारी कार्यालय, अस्पताल र शैक्षिक संस्थाका न्युनतम एक सय मिटर पेरिफेरीमा सुर्तिजन्य बस्तुको विक्रिवितरण र उपभोग गर्न नपाईने प्रावधान रहेको छ ।
सुर्तिजन्य बस्तु नियमन ऐनमा निश्चित ठाउँमा मात्र सुर्ति, खैनी, चुरोट, गुट्खा जस्ता पदार्थ खान पाईने भनिएपनि पर्वत सदरमुकाम कुश्माबजारमा भने लापरबाहीपुर्ण तरिकाले विक्रिवितरण र उपभोग गरेको पाईएको छ ।
जिल्ला बजार अनुगमन समितिले बुधवार विहान कुश्माबजारका विभिन्न क्षेत्रमा गरिएको अनुगमनमा सार्वजनिक स्थलमै बसेर खुलेआम चुरोट, खैनी, सुर्तिजस्ता पदार्थहरु सेवन गरेको पाईएको हो । जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको नारायण उच्च मावि, शिवालयचोक, बान्द्रबिडिमा रहेको बसपार्क, प्रदेश अस्पताल पर्वत परिसर लगायतका क्षेत्रमा गरिएको अनुगमनमा सवैजसो होटल, किराना पसलहरुमा विना इजाजत सुर्तिजन्य बस्तुको विक्रिवितरण भैरहेको पाईएको हो ।
त्यसैगरी सेवनकर्ताहरुले समेत खुला ठाउँमा बसेर खुलमखुला चुरोट सेवन गरिरहेको पाईएको हो । सो अवसरमा खुल्ला स्थानमा चुरोट सेवन गर्ने चार जनालाई जनही एक एक सय रुपैयाका दरले जरिवाना गराईको छ भने विभिन्न ९ वटा पसलहरुबाट अबैध रुपमा विक्रिवितरण भैरहेको सुर्ति, चुरोट, खैनी, गुट्खा बरामद गरी नष्ट गरिएको छ ।
पहिलोपटक गरिएको अनुगमनमा सेवनकर्ता र विक्रेतालाई सचेत गराईएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताउनुभयो । इजाजत नलिइकन विक्रिवितरण गर्नेहरुलाई इजाजत लिन, सार्वजनिक शौचालय वा बसपार्कमा धुम्रपान स्थल तोक्न, अन्य क्षेत्रमा धुम्रपान रहित क्षेत्र लेखिएका पर्चा, पम्प्लेट टाँस गर्न सुझाईएको छ ।
जानीजानी वा नजानेर पनि कानूनको पालना नगर्नेहरुलाई पहिलोपटक सचेत गराईएको भएपनि अर्को पटकको अनुगमनमा भने कारबाही गरिने भएको छ ।
अनुगमनका क्रममा ठाउँ ठाउँमा नो स्मोकिङ जोन लेखिएको पर्चा टाँस समेत गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडलेको नेतृत्वमा गरिएको अनुगमनमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानप्रसाद अर्याल, प्रदेश अस्पताल कार्यालयका प्रमुख बद्रीराज आचार्य, एकीकृत सेवा कार्यालयका अधिकृत भिम अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरबि पौडेल, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटा, कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा लगायत सुरक्षा निकाय र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!