पर्वत – गत बैशाख २९ गते अर्घाखाँचीको सुपादेउराली दर्शन गरि फर्किने क्रममा सवारी दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि पर्वत फोटोग्राफर संघ पर्वतले आर्थिक सहयोग गरेको छ ।
दुर्घटनामा परी गम्भीर घाईते भएकी कुश्मा नगरपालिका वडा नं. ४ की पवित्रा जिसीलाई संघले रु. ४० हजार रुपैँया हस्तान्तरण गरिएको हो । घाईतेको उपचारमा सघाउ पुर्याउने उद्धेश्यले संघले आफ्ना पदाधिकारी, सदस्य र अन्य सहयोगीहरुवाट संकलन गरिएको उक्त रकम शुक्रवार एक समारोह बीच पिडित जिसीका भाई नारायण पौडेललाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण गर्दै फोटोग्रार महासंघ नेपालका उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले दुर्घटनाका घाईतेको उपचारका लागि गरिएको आर्थिक सहयोगको प्रसंसा गर्नुभयो । उहाँले नेपाली समाजमा मानवियता अझै मरेको छैन भन्ने प्रमाण भएको बताउनुभयो । आर्थिक अभावका कारण कोहिपनि अकालमा मृत्युवरण गर्न नपरोस भन्ने तर्फ हामी सवै सजग हुनुपर्ने उहाँको भनाई छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा फोटोग्राफर महासंघ गण्डकीका अध्यक्ष नारायणबहादुर केसी, कुश्मा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो । बक्ताहरुले पिडित घाईतेहरुको उपचारका लागि सवैले आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
पर्वत फोटोग्राफर संघका अध्यक्ष बिजय शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रमेश श्रेष्ठ र संचालन सहसचिब आरसी पौडेलले गर्नुभएको थियो ।
घाईते जिसीको काठमाण्डौमा उपचार भैरहेको छ । उहाँको अवस्था अन्त्यन्तै नाजुक रहेकाले थप उपचारका लागि आवश्यक आर्थिक सहयोग गरिदिनुहुन परिवारले अपिल गरेको छ ।






