पर्वत– महाशिला गाउँपालिकाको समग्र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नेपाल पत्रकार महासंघ पर्वतको चौधौँ साधारण सभा भोली आइतवार महाशिला वडा नं. ५ मा अवस्थित एशियाकै ठुलो महाशिला प्राङ्गणमा गरिने भएको छ ।
प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उद्धेश्य सहित यसपटकको साधारण सभा सदरमुकाम बाहिर गर्न लागिएको हो । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा महासंघ पर्वत शाखाका पुर्व अध्यक्षहरुलाई सम्मान तथा तीन जना पत्रकारहरुलाई सुजनशिल पत्रकारिता पुरस्कार वितरण गरिने भएको छ । सृजनशिल पत्रकारिता पुरस्कारका लागि तीन जना पत्रकार छनौट भएका छन् । जस मध्ये सुभसन्देश साप्ताहिकका सम्पादक छविलाल तिवारी, अर्थविद साप्ताहिकका सम्पादक गणेश गिरी र गोरखापत्र संवाददाता प्रनिश गिरी छनौट भएको महासंघ पर्वतका सचिब साजन परियारले जानकारी दिनुभयो ।
यसैगरी साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै पर्वतका पत्रकारिता विगत, वर्तमान र भावी योजनाहरुका बारेमा समेत छलफल गरिने भएको छ ।
सोहि अवसरमा महाशिला भित्र रहेका पर्यटकीय स्थलहरु पैंयूकोट, चिसापानी, महाशिला, धुवाँकोट, फलामखानी लगायतका अवलोकन र रिपोर्टिङ्ग गर्ने कार्यक्रम समेत रहेको सचिब परियारले जानकारी दिनुभयो । कार्यक्रममा महासंघ केन्द्र र प्रदेशको समेत प्रतिनिधित्व रहने भएको छ ।






