पर्वत, १३ जेठ । पर्वतको मोदी गाउँपालिकाको देउपुरमा बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्वन्धि संयुक्त नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको आयोजनामा मनसुनजन्य बाढी, पहिरोपाट भिर पहरामा अड्किएका घाईते तथा मृतकहरुलाई उद्धार गर्ने अभ्यास डेमोन्सटे्रेसन गरिएको हो । जिल्ला स्थित नेपाली सेनाको नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरी बल २५ नम्वर गण हेक्वा चण्डिका पर्वत, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाईटी लगायतको संयुक्त सहभागितामा कार्यक्रम गरिउको हो ।
जोखिम न्यूनिकरण र व्यवस्थापन अन्तर्गत पहिरोमा अड्किएका व्यक्तिलाई डोरीद्वारा उद्धार, अड्किएका र फसेका व्यक्तिहरुलाई डोरीका सहायताबाट तलमाथि जाने प्रकृया अन्तर्गत उद्धार, हाईलाईन रेक्यु, पहिरोबाट उद्धार गरिएका व्यक्तिलाई दिईने प्राथमिक उपचार सम्बन्धी अभ्यास गरिएको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी स्टेचरको प्रयोगमार्फत प्राथमिक उपचार कक्ष वाट सडकको पुहँच भएको स्थलसम्म लैजानेबारेमा पनि सुरक्षाकर्मीहरुले अभ्यास गरेका थिए ।
कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बाढीपहिरोको हिसावले मोदी गाउँपालिका अत्यन्तै जोखिमयुक्त क्षेत्र रहेको बताउँदै सुरक्षाकर्मीले गरेको अभ्यास नागरिकहरुले पनि सिक्न जरुरी रहेको बताउनुभयो । स्थानीय नागरिकहरुले पनि यस्ता सिपम सिक्न सकेमा उद्धार तथा व्यवस्थापनमा सघाउ पुग्ने उहाँको भनाई छ ।वर्षेनी विपदजन्य जोखिमबाट पालिकामा धनजनको क्षति हँुदै आएको बताउँदै अध्यक्ष शर्माले अब बर्खायाम लाग्न थालेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बिपद बाजा बजाएर नआउने बताउँदै नागरिकलेनै आवश्यक सुरक्षा साबधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । आफु बसेको घर, जग्गा जमिनको भौगोलिक अवस्था, पहिरोको जोखिम, पुर्वाधार निर्माणका क्रममा अपनाउनुपर्ने आवश्यक सावधानीहरु पालना गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा शसस्त्र प्रहरी बल २५ नं गण हेक्वा चण्डिकाका गणपती शसस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीले बिपद् पुर्वका सावधानीहरु नागरिक आफैले अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षा निकाय २४ सै घण्टा तैनाथी अवस्थामा रहेको बताउँदै आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गर्नुभएको छ । उहाँले शसस्त्र प्रहरीले पनि विपद् सम्वन्धि बाढी पहिरोबाट बच्नका लागि अपनाउनुपर्ने आवश्यक सावधानीहरु समेटिएको सामाग्री प्रकाशन गरी विद्यालय तथा जोखिमयुक्त क्षेत्रमा वितरण गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय जननेत्र माविका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सुरक्षाकर्मी, बृद्धबृद्धा लगायतको बाक्लो सहभागिता रहेको थियो ।






