पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जेनजी युवाहरुलाई चुनावी मैदानमा आउन चुनौती दिनुभएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा आयोजित एम्बुलेन्स सेवा उद्घाटन गर्दै जोशीले साच्चिकै जेनजी भन्नेहरु चुनावी मैदानमा आएर चुनाव जित्न चुनौती दिनुभएको हो । बास्तविक जेनजीले उठाएका मागहरु मुलुक र जनताका लागि जायज रहेको भएपनि जेनजीको आवरणमा मुलुकमा आएको परिवर्तन र विकास देख्न नसक्ने विधंशकारी अपराधिहरुलाई कारबाहीको दायरामा ल्याउनुनै पर्ने उहाँको भनाई छ ।
जोशीले भन्नुभयो ‘जेनजीहरु आउनुहोस् निर्वाचनमा प्रतिस्पर्धा गरौँ, जनताले तपाईलाई मन पराएर मत दिएछन् भने तपाईहरुनै सत्ता चलाउनुहोस्, होईन हामी दलहरुलाई नै रोजेछन् भने हामी अझै सच्चिएर मुलुकमा आएको परिवर्तनलाई संस्थागत गर्दै लैजान्छौँ । जोशीले अध्याँरो कोठाभित्र लुकेर मुलुक र समाजलाई विखण्डन गर्न नपाईने बताउनुभयो । जनमतको अनादार गर्नेहरु जेनजी हुन सक्दैनन् । उहाँले दोहोर्याएर भन्नुभयो– जेनजी हो हिम्मत छ भने आउनुहोस् चुनाव लडौँ ।
जोशीले राजनीतिक दलहरु पनि सच्चिनुपर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, आफन्तबादको अन्त्य जस्ता कुराहरु हटाउनैपर्ने बताउँदै यसमा मुलुकका राजनीतिक दलहरुको चेत खुल्नुपर्ने बताउनुभयो । जेनजी पुस्ताका मागहरुलाई समट्दै दलहरु परिमार्जित हुनुपर्नेमा उहाँको जोड रहेको छ ।
जोशीले चुनौती दिँदै भन्नुभयो–‘आँट छ सक्नुहुन्छ भने आउनुस चुनावमा, हैन भने विधंश मच्चाउने छुट कसैलाई छैन ।’ जोशीले भदौ २४ गतेको घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । सार्वजनिक सम्पत्ति, र व्यक्तिगत सम्पत्तिमाथि अध्यारो कोठाभित्रवाट आक्रमण गर्न पाईदैन, आउनुहोस् खुलेआम जनतासँग गएर मत मागौ अनि सत्तामा जाऔँ, हैन भने कसैको रिस र आवेगमा मनलाग्दी गर्न पाईदैन, यो कानूनी राज्य हो ।’
पर्वत जस्तो शान्त जिल्लामा पनि पार्टी कार्यालयहरु र सांसद पदम गिरीको घर जलाउने जस्ता घटनाप्रति उहाँले निन्दा व्यक्त गर्नुभयो ।
जोशीले अब हामी राजनीति गर्ने ब्यक्ति र पार्टीहरु पनि सुध्रिनै पर्दछ, नत्र आज सिंहदरवार र पार्टी कार्यालय जले, भोली व्यक्तिनै जल्ने अवस्था आउन सक्छ, यसप्रति सवै सचेत हुनुपर्दछ । जोशीले तीनै तहका सरकारले युवाहरुका माग र आवश्यकतालाई नियमित छलफल गरी सम्वोधन गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
विकास निर्माणमा राजनीति नगर्न समेत उहाँको सुझाव रहेको छ । राम्रो कामका लागि सवैले साथ र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । समय परिवर्तनशिल छ, अबपनि पुरानै तौरतरिकाले काम गर्ने अवस्था छैन, हरेक वर्ग, क्षेत्र, सम्प्रदायको सहभागिता सुनिश्चित गर्न सके सवैले अपनत्व पनि बहन गर्ने भएकाले यसतर्फ ध्यान दिन उहाँले जनप्रतिनिधिहरुलाई समेत सुझाव दिनुभयो ।
जोशीले आफुँ पदमा रहँदा पनि नरहँदा पनि पर्वत जिल्लाको विकासका लागि निरन्तर सक्रिय रहँदै आएको बताउँदै जनचाहाना पुरा गर्नका लागि अझैपनि अहोरात्र खटिरहने प्रतिद्धता व्यक्त गर्नुभयो ।






