बागलुङ- तीन वर्षदेखि कालीगण्डकी नदी किनारको मलामी बस्ने छाप्रोमा बस्दै आएको प्रहरीका लागि अब आफ्नै चौकी निर्माण गरिने भएको छ ।
कान्तिपुर दैनिक र इकान्तिपुरका अतिरिक्त विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा बागलुङ नगरपालिकाले चौकी बनाउने भएको हो । बागलुङ नगरपालिका वडा नं १ को खुदुर्केमा उक्त चौकी बन्न लागेको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले बताए ।
बागलुङ प्रवेशद्वार रहेको मालढुंगामा हाल खुला ठाउँमा कार्यालय स्थापना गरेर प्रहरीले काम गर्दै आएको छ । २०५१ सालमा गाडी चल्न थालेपछि यहाँ प्रहरी चौकी राखे पनि छाप्रोमा संचालित थियो । तीन वर्षअघि त्यो छाप्रोसमेत सडक चौडा पार्ने काममा भत्काइएपछि प्रहरी घाटको छाप्रोमा सरेको थियो ।
हाल यहाँ संचालिन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) र नगरपालिकाबीच भएको ६ बुँदे सम्झौतापछि चौकी बनाउन लागिएको हो । २५ वर्षका लागि आवश्यक जग्गा भाडामा लिएर नगरपालिकाले चौकी बनाउन लागेको हो । त्यसपछि आपसी समझदारीमा सम्झौता नवीकरण हुन सक्ने प्रावधान छ ।
नगरपालिको बनाउने उक्त भवनमा प्रहरी चौकी निर्माणकालागि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सरकारबाट नगरपालिकाको खातामा १ करोड रुपैयाँ पठाइदिने र प्राविधिक परिचालनसहित भवन निर्माण नगरपालिकाले गर्ने उल्लेख छ ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठले उक्त स्थानमा आधुनिक र प्रविधियुक्त प्रहरी चौकी र पर्यटन सूचना केन्द्र बनाउने बताए । ‘हामीले चार महिनाभित्र आधुनिक भवन बनाएर प्रहरी कार्यालय सार्नेछौं,’ श्रेष्ठले भने, ‘यो भवनमा इन्ट्री गरेर जिल्ला प्रवेश गर्नेले जिल्लाको पहिचान फेरिएको महसुस गर्नेछन् ।’
सम्झौताका लागि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, जनप्रतिनिधिसमेतले हस्ताक्षर गरेका छन् ।
हाल दैनिक चार–पाँचवटा शव दाहसंस्कारका लागि यहाँ ल्याइने गरिएकाले मालढुंगामा मलामी ओत लाग्न पनि पाएका थिएनन् । ओत लाग्ने गरी बनेको पाटीलाई चौकी बनाइएको थियो । प्रहरी चौकी मालढुंगामा ट्राफिक चेकपोस्टसमेत १५ जनाको दरबन्दी छ ।






