पर्वत महोत्सव सफल बनाउन महिला उद्यमीहरु सक्रिय बन्दै - News site from Nepal
पर्वत महोत्सव सफल बनाउन महिला उद्यमीहरु सक्रिय बन्दै

पर्वत–ः समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सव आउन दुई साता मात्र बाँकी छन् ।
अहिले महोत्सवका लागि प्रचार प्रसार, मुख्य प्रायोजक, प्रायोजक, खेलकुद, कलाकार, दोहोरी, नृत्य, झाकी तथा र्‍यालीको व्यवस्थापन र तयारीहरु भैरहेका छन् । महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्लाका महिला उद्यमीहरु समेत सक्रिय बनेका छन् । पर्वत उद्योग बाणिज्य संघ महिला उद्यमी समितिको बिहीवार बसेको बैठकले महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि जिम्मेवारी अनुसारको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

महिला उद्यमी सभापति अम्बिका शर्माको अध्यक्षतामा बसेको बैठकमा महोत्सवका मुल संयोजक ठाकुर बि पौडेलले महोत्सवको हालसम्मको तयारी र बाँकी रहेका कामहरुको बारेमा ब्रिफिङ गर्नुभएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष, पुर्व अध्यक्षहरुले पनि महोत्सवलाई सफल बनाउनका लागि महिला उद्यमीहरुको महत्वपुर्ण भूमिका रहने भएकाले सवै सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो ।
महोत्सवको दिन नजिकिदै गर्दा अहिले आवश्यक तयारीहरु भैरहेका छन् । लोक दोहोरी प्रतियोगिता, भजन तथा रत्यौलीका प्रस्तुतीहरुसँगै रमाईलो मेला जस्ता आकर्षणहरु रहेका छन् । यसपटक पर्वत जिल्लामा अहिलेसम्म नआएका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल कलाकारहरु र कन्सर्टहरुलाई महोत्सवले स्थान दिने भएको छ । दर्शकहरुका लागि नयाँ नयाँ स्वाद र मनोरन्जन दिने हिसावले तयारीहरु भैरहेको प्रचार प्रसार सयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
गण्डकी प्रदेशका लघु तथा घरेलु उद्योगहरूबाट उत्पादित सामग्रीहरूको बजारीकरण तथा कोसेली घरको व्यवस्थापन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला संस्कृतिको जगेर्ना गर्ने, गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउने, स्थानीय बजारको सुरक्षाको लागि सी.सी. क्यामेरा जडान गर्ने, खेलकुद मैदानलाई व्यवस्थापन गर्ने र आधुनिक सभाहल बनाउने उद्देश्य महोत्सवमा राखिएको अध्यक्ष पौडेलले बताए ।
महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्‍याली प्रदर्शन, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, विभिन्न जातजातिका झाँकी प्रस्तुत, लप्सीका खाद्य परिकारहरूको प्रदर्शनी तथा बिक्री, विभिन्न उपभोग्य वस्तुहरूको बिक्री, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, दौड तथा छेलो फाल्ने प्रतियोगिता, टिकटक च्यालेन्ज, सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
झन्डै दुई सय ५० वटा ‘स्टल’हरू रहने तथा करिब एक लाख दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने अनुमान गरिएको महोत्सवमा आकर्षणका रूपमा औद्योगिक प्रदर्शनी, स्थानीय कलाकारहरूका प्रतिभा, स्थानीय स्वादका स्थानीय परिकार, प्रदेशका पर्यटकीय स्थलहरूको बारेमा जानकारी, हस्तकलाका सामग्रीहरू सहित पर्वतलाई चिनाउँदै आएको लप्सीबाट बनेका विभिन्न परिकारहरू, प्रशोधित जडीबुटी, कृषि तथा पशुजन्य उत्पादन लगायत रहेका छन् । महोत्सवमा ‘स्टल’ राख्ने पर्वत उद्योग वाणिज्य सङ्घका सदस्य, लघु, घरेलु तथा महिला उद्यमीहरूले २५ प्रतिशत छुटमा ‘स्टल’ भाडामा लिन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!