स्वधर्म मा. वि.पाखापानीको ६६ औं वार्षिकोत्सव सम्पन्न - News site from Nepal
स्वधर्म मा. वि.पाखापानीको ६६ औं वार्षिकोत्सव सम्पन्न

पर्वत – स्वधर्म माध्यमिक विद्यालय-महाशिला – ४ पाखापानी पर्वतले आफ्नो स्थापना ६६ वर्ष प्रवेश गरेको अवसरमा हरेक वर्ष पौष १ गते मनाउँदै आएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम यस वर्ष पनि भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको प्राङ्‌गणमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ को पुरस्कार वितरण ,अक्षयकोषको प्राप्त ब्याजबाट पपुरस्कार वितरण, शिक्षक, अभिभावक, सम्मानलगायतका कार्यक्रमका साथै विविध सांस्कृतिक नृत्यहरूसमेत समावेश गरिएको थियो ।
कार्यक्रम वि. व्य. स. अध्यक्ष अमृतप्रसाद सुवेदीको सभापतित्व र महाशिला गाउँपालिका उपाध्यक्ष धनसुवा वि.क.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त अवसरमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथिले विद्यालयको शैक्षिक उन्नयनमा पालिकाको सधैँ साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि तथा महाशिला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पूर्णबहादुर मल्लले मन्तव्यका क्रममा पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने सम्पूर्ण खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । त्यस्तै विशिष्ट अतिथि एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले विद्यालयले वार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोजना गर्ने पालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापको आगामी वर्षदेखि आजीवन पुरस्कार सौजन्य गर्ने घोषणा गर्नुभएको थियो। उक्त अवसरमा महेन्द्रज्योति मा. वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष एक बहादुर हमाल, महाशिला स्काउट स्थानीय आयुक्त भवराज शर्मा, जनविकास मा.वि.का प्रअ उमाकान्त लम्साल, अक्षयकोष दाता हर्क ब. रेग्मी, पूर्व शिक्षक डिल ब. कार्की लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनविकास मा .वि. प्रथम, मदन आश्रित मा.वि.द्वितीय र स्वधर्म मा. वि.ले तृतीय स्थान हात पारेका थिए । प्रतियोगिताको निर्णायकमा डम्बरराज जोशी, सीता शर्मा र रेशमलाल चपाईँ रहनुभएको थियो।
वार्षिकोत्सवका अवसरमा वर्ष शिक्षकका रूपमा विद्यालयको निमावि तृतीय तहका शिक्षक नारायणप्रसाद पराजुली र उत्कृष्ट अभिभावक शोभा भण्डारी सम्मानित हुनुभएको थियो । सोही अवसरमा अक्षयकोषदाता मेख बहादुर क्षेत्री ,बमबहादुर क्षेत्री, रामबहादुर भण्डारी ,ध्रुव रेग्मी लाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा वि .व्य. स. अध्यक्ष एवम् कार्यक्रमका सभापति अमृत प्रसाद सुवेदीले आफ्नो जीवनकालको चार दशक अध्यापन र प्रशासनिक कार्यमा संलग्न रहेको विद्यालयमा पुनः जिम्मेवारी दिए पश्चात समुदायलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै विद्यालयको समग्र आर्थिक, भौतिक, सामाजिक र शैक्षिक उन्नयनका लागि शिक्षक, अभिभावक विद्यालय, समुदाय र स्थानीय सरकारले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
विद्यालयका प्रधानाध्यापक शेषकान्त शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन , भावी कार्यक्रम तथा आ.व. ०८१/०८२ को आयव्यय विवरण समेत प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा शिक्षिका भगवती कुमारी पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक नारायणप्रसाद पराजुलीले गर्नुभएको जानकारी सूचना अधिकारी कुलप्रसाद चपाईले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!