पर्वतको पैयूँ आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु - News site from Nepal

पर्वत-  पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भई आजदेखि सेवा प्रवाह सुरु गरिएको छ। आज मिति २०८२ साल मंसिर ३ गते आयोजित विशेष कार्यक्रमका बीच स्वास्थ्य बिमा सेवाको सुरुवात गरिएको हो।

गत भदौ २ गते स्वास्थ्य बिमा बोर्डसँग समझदारी भई आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि अस्पतालबाट विधिवत रूपमा स्वास्थ्य बिमा सेवा सञ्चालनमा ल्याइएको हो।

स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ समारोहको अध्यक्षता पैयूँ गाउँपालिकाका अध्यक्ष श्री तोरण मल्ल ठकुरीले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरे, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पैयूँ आधारभूत अस्पतालका प्रमुख, मेडिकल अधिकृत, जग्गादाताहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष ठकुरीले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएसँगै पैयूँ गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकहरूले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहमै प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

पैयूँ आधारभूत अस्पतालबाट प्रवाह हुने स्वास्थ्य बिमा सेवाबाट पैयूँ गाउँपालिकावासीहरूका साथै छिमेकी पालिका बिहादी र महाशिला गाउँपालिका तथा अस्पताल पायक पर्ने अन्य क्षेत्रका सेवाग्राहीहरूले पनि लाभ लिन सक्ने जनाइएको छ।

आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले विशेष प्राथमिकता दिएको जनाउँदै, स्थानीय तहले सम्पूर्ण नागरिकहरूलाई निश्चिन्त रूपमा स्वास्थ्य बिमा सेवाको उपयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!