पर्वत २८ मङ्सिर : पर्वतको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीमा संचालित एक दिने मुटुरोग परिक्षण शिविरमा साढे चार सय जनाको परिक्षण गरिएको छ ।
कुश्मा आधारभुत अस्पताल ठुलीपोखरीका आयोजना तथा सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ५० जना भन्दा बढिले परिक्षण गराएका हुन् । परिक्षण गरिएका मध्ये पाँच जनामा जटिल समस्या देखिएको छ । उनिहरुलाई शल्यक्रियानै गर्नुपर्ने समस्या देखिएकाले काठमाण्डौ रिफर गरिएको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण मुटु सम्बन्धि समस्या बल्झाएर बसेका ग्रामीण नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको हो । शिविरमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमकी जिल्ला स्याङ्जाका बिरामीहरु समेत सहभागि भएका थिए ।
शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा डा.सुमन अधिकारी, डा.सुतप यादव, बोधराज गौतम लगायतको टोलीले बिरामीहरुको उपचार गरेको थियो । बिरामीहरुलाई मुटुरोग सम्बन्धि परामर्श र परीक्षण, निःशुल्क इसिजी, निःशुल्क इको कार्डियोग्राफी, निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
लाखौ रुपैया खर्च गरेर उपचार गर्नुपर्ने बिरामीहरुले निशुल्क रुपमा सेवा पाउँदा ठुलो राहत मिलेको स्थानीय रमेश पौडेलले बताउनुभयो । शिविरमा विशेषगरी विपन्न, दलित तथा बृद्धबृद्धाहरु लाभान्वित भएको उहाँले बताउनुभयो ।
यस अघि शिविरको उद्घाटन कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले गर्नुभएको थियो ।





