पर्वत साहित्य संगमद्धारा नौ स्रष्टालाई नगद सहित सम्मान - News site from Nepal
पर्वत साहित्य संगमद्धारा नौ स्रष्टालाई नगद सहित सम्मान

पर्वत : धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो संस्थाबाट स्थापित तथा संचालित विभिन्न साहित्यिक पुरस्कारहरू साहित्यकारहरुलाई प्रदान गरेको छ ।
पर्वत साहित्य संगमका अध्यक्ष खेमराज शर्मा चापागाईंको अध्यक्षतामा बसेको बैठकले पुरस्कार छनौट समितिले गरेको प्रस्तावलाई अनुमोदन गरे अनुसार शनिवार आयोजित कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएको हो । साहित्य संगमले धौलागिरी क्षेत्रका साहित्यिक व्यक्तित्वहरुलाई हरेक दुई वर्षमा प्रदान गर्दै आएका विभिन्न नौ वटा विधामा पुरस्कार वितरण गरेको हो । १५ हजार पाँच सय ५५ रुपैयाँ राशीको पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कारबाट राजेन्द्र पहाडीलाई सम्मान गरिएको छ ।
मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतलाई नमुना शिक्षा तथा साहित्य पुरस्कार, अजय मिलन श्रेष्ठ म्याग्दीलाई डिल्ली–राधा साहित्य पुरस्कार, गोविन्दप्रसाद भुषाल पर्वतलाई मान–पदम स्मृति साहित्य पुरस्कार, सरस्वती शर्मा जिज्ञासुलाई संस्कृति साहित्य पुरस्कार, लक्ष्मीप्रसाद शर्मा पर्वतलाई गोपि–नन्द स्मृति साहित्य पुरस्कार, जगन्नाथप्रसाद शर्मा लम्साल पर्वतलाई कृष्णा–उद्योग साहित्य पुरस्कार, मछिन्द्रप्रसाद शाक्य बाग्लुङलाई अरनिको श्रीभद्र दिलकुमारी ललितकला पुरस्कार तथा सुशिलबाबु थकाली अनुरागी मुस्ताङ्गलाई बलबहादुर–केशकुमारी साहित्य पुरस्कारले सम्मान गरिएको हो । यी पुरस्कारहरुको राशी १० हजार एक सय रुपैयाँ रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले सबै व्यक्ति समाज सेवामा लाग्नु पर्छ भन्दै पर्वत साहित्य सङ्गमले अक्षयकोष मार्फत धेरै स्रष्टा सम्मान गरि भाषा तथा साहित्य क्षेत्रमा ठुलो सेवा गरेकोमा आफुलाई खुसी लागेको बताए । आफुले पनि पर्वत साहित्य सङ्गममार्फत एकाउन्न हजार एक सय एघारको अक्षय कोष स्थापना गर्ने घोषणा समेत उनले गरेका छन् ।
सोही कार्यक्रममा सङ्गमका सल्लाहकार तथा सम्मानित स्रष्टा गोविन्द प्रसाद भुसालले पनि एकाउन्न हजार एक सय राशीको जागेश्वर मणि भुसाल स्मृति साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका छन् । कार्यक्रममा पर्वत साहित्य सङ्गमका पूर्व अध्यक्ष इन्द्रमान खत्रीको मुक्तक सङ्ग्रह आमाहरु र निवर्तमान अध्यक्ष डिआर शर्माको लघुकथा संग्रह नदेखिने छालहरुको लोकार्पण गरिएको छ ।
संगमका उपाध्यक्ष गोकुल शर्माको संचालनमा भएको कार्यक्रममा संस्थाका सदस्यद्वय सीता पौडेल र स्वइच्क्षा आचार्यले गीती स्वागत तथा नमुना आवासीय मा.वि. कुश्माका विद्यार्थीहरुले लोक नृत्य प्रस्तुत गरेका थिए । पर्वत साहित्य संगमका अध्यक्ष खेमराज शर्मा चापागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
पर्वत साहित्य संगमले विसं. २०७२ देखि साहित्यिक विधामा विभिन्न पुरस्कारहरु स्थापना तथा व्यवस्थापन गरी यस क्षेत्रका साहित्यिक स्रष्टा सर्जकहरुलाई उहाँहरुले पुर्याउनुभएको वाङ्मयिक योगदानको उच्च मूल्यांकन गर्दै समर्पण गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!