पर्वत–ः समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सव आउन अब ८ दिनमात्र मात्र बाँकी छन् ।
महोत्सवको दिन नजिकिँदै जाँदा बडागाउँ खेल मैदानमा आवश्यक संरचनाहरु निर्माण गर्न थालिएको छ । महोत्सव स्थलमा घेराबार निर्माण, स्टलहरु, मन्च तथा रमाईलो मेलाका उपकरण जडानका कार्यहरु शुरु भएको महोत्सव मुल संयोजक ठाकुरवि पौडेलले जानकारी दिनुभयो ।
महोत्सवलाई ब्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि दर्शकहरुलाई सहज रुपमा अबलोकन गर्न मिल्नेगरी आकर्षण संरचनाहरु निर्माण गर्न थालिएको हो । जिल्लाको समग्र आर्थिक र पर्यटकीय प्रवद्र्धनसँग जोडिएको महोत्सवलाई दर्शक र पर्यटकमैत्री बनाउने मुख्य उद्धेश्य रहेको छ ।
यस बाहेक महोत्सवको प्रचार प्रसार, मुख्य प्रायोजक, प्रायोजक, खेलकुद, कलाकार, दोहोरी, नृत्य, झाकी तथा र्यालीको व्यवस्थापन र तयारीहरु भैरहेका छन् । महोत्सवमा लोक दोहोरी प्रतियोगिता, भजन तथा रत्यौलीका प्रस्तुतीहरुसँगै रमाईलो मेला जस्ता आकर्षणहरु रहेका छन् । यसपटक पर्वत जिल्लामा अहिलेसम्म नआएका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल कलाकारहरु र कन्सर्टहरुलाई महोत्सवले स्थान दिने भएको छ । दर्शकहरुका लागि नयाँ नयाँ स्वाद र मनोरन्जन दिने हिसावले तयारीहरु भैरहेको प्रचार प्रसार सयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सवा दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता, डेढ लाख पुरस्कार राशीको दोहोरीगीत प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रीतयोगिता, सुन्तला खाने र टिकटक च्यालेन्ज प्रतियोगिता मुख्य आकर्षणको रुपमा राखिइको छ ।
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
गण्डकी प्रदेशका लघु तथा घरेलु उद्योगहरूबाट उत्पादित सामग्रीहरूको बजारीकरण तथा कोसेली घरको व्यवस्थापन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला संस्कृतिको जगेर्ना गर्ने, गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउने, स्थानीय बजारको सुरक्षाको लागि सी.सी. क्यामेरा जडान गर्ने, खेलकुद मैदानलाई व्यवस्थापन गर्ने र आधुनिक सभाहल बनाउने उद्देश्य महोत्सवमा राखिएको अध्यक्ष पौडेलले बताए ।
महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्याली प्रदर्शन, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, विभिन्न जातजातिका झाँकी प्रस्तुत, लप्सीका खाद्य परिकारहरूको प्रदर्शनी तथा बिक्री, विभिन्न उपभोग्य वस्तुहरूको बिक्री, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, दौड तथा छेलो फाल्ने प्रतियोगिता, टिकटक च्यालेन्ज, सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
झन्डै दुई सय ५० वटा ‘स्टल’हरू रहने तथा करिब एक लाख दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने अनुमान गरिएको महोत्सवमा आकर्षणका रूपमा औद्योगिक प्रदर्शनी, स्थानीय कलाकारहरूका प्रतिभा, स्थानीय स्वादका स्थानीय परिकार, प्रदेशका पर्यटकीय स्थलहरूको बारेमा जानकारी, हस्तकलाका सामग्रीहरू सहित पर्वतलाई चिनाउँदै आएको लप्सीबाट बनेका विभिन्न परिकारहरू, प्रशोधित जडीबुटी, कृषि तथा पशुजन्य उत्पादन लगायत रहेका छन् । महोत्सवमा ‘स्टल’ राख्ने पर्वत उद्योग वाणिज्य सङ्घका सदस्य, लघु, घरेलु तथा महिला उद्यमीहरूले २५ प्रतिशत छुटमा ‘स्टल’ भाडामा लिन पाउने छन् ।







