फलेवासमा छैटौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु  - News site from Nepal
पर्वत:  पर्वतको फलेवास नगरपालिकामा छैटौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ वडा नं. ६ देविस्थानमा रहेको फलेवास रंगशालामा सोमवारदेखि प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा फलेवास नगरपालिका भित्रका १३ वटा विद्यालयका २ सय ९४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । भलिबल, दौड, एथलेटिक्स लगायतका खेलहरु सोमवार विहानैदेखि आरम्भ गरिएको हो ।
तीन दिन सम्म संचालन हुने प्रतियोगिताको नगर प्रमुख गंगाधर तिवारीले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख तिवारीले विद्यार्थीहरुलाई पठनपाठन सँगसँगै खेल क्षेत्रमा समेत आकर्षित गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले राष्ट्रका लागि सक्षम खेलाडी उत्पादनमा नगरले जोड दिँदै आएको बताउँदै तिवारीले खेल क्षेत्रमा थप लगानी बिस्तार गरि विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका लागि क्षमताबान बनाउने बताउनुभयो ।
उहाँले गाउँ गाउँमा रहेका खेल प्रतिभाहरुको प्रोत्साहनका लागि खेल मैदान निर्माण, खेलकुद सामाग्री हस्तान्तरण र विभिन्न खेल गतिविधिमा नगरले सहयोग गर्दै आएको बताउँदै यो प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सवैले सक्रियता देखाउन आव्हान गर्नुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री, प्रमुख  प्रशासकिय अधिकृत जीवन ज्ञवाली, फलेवा वडा नं. २ का अध्यक्ष गंगानारायण श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष नविनकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक नारायण लामिछानेले स्वागत र संचालन शिक्षा शाखा उपप्रमुख मन्जु शर्मा पौडेलले गर्नुभएको थियो । उद्घाटन अघि विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!