नवरात्रको आज पाँचौं दिन : स्कन्दमाताको उपासना गरिँदै - News site from Nepal
नवरात्रको आज पाँचौं दिन : स्कन्दमाताको उपासना गरिँदै

काठमाडौं – नवरात्रीको आज पाँचौ दिन। आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ। देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ। स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो।

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी।।

स्कन्दमाताको चार हात रहेको छ। देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ। स्कन्दमाताको वहान सिंह रहेको छ। कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ।

यस स्वरुपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ। स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले संसारिक पाप तथा कष्टबाट छुट्कारा मिल्ने विश्वास छ।
नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुईँचो लाग्ने गर्छ। विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!