पर्वतमा एक करोड लागतमा भण्डारा सेवा केन्द्र सञ्चालन, तीर्थयात्रीलाई सहज - News site from Nepal

पर्वत– पर्वतमा करीव एक करोड लागतमा तीर्थयात्रीलाई लक्षित गरी भण्डारा सेवा केन्द्र सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका वडा ४ स्थित गुप्तेश्वर गुफा परिसरमा दुर्गानाथ पशुपति भण्डारा सेवा केन्द्रले तीर्थयात्रीलाई निःशुल्क भोजन सहित बस्ने बासको सेवा प्रदान गर्न थालेको हो ।
नेपालका विभिन्न स्थान तथा खासगरी छिमेकी भारतदेखि आउने तीर्थयात्री तथा दर्शनार्थीलाई लक्षित गर्दै जिल्लामै पहिलो पटक केन्द्रले निःशुल्क भोजन सहित बासको सेवा सुरु गरेको केन्द्रका सचिव गिरबहादुर भण्डारीले बताउनुभयो । सचिव भण्डारीका अनुसार स्थानीयस्तरमा धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुलाई सहज बनाउने उद्देश्य केन्द्रले लिएको छ । केन्द्रमा गुप्तेश्वर गुफाको दर्शन गर्न आउने साधुसन्त र सर्वसाधारण भक्तजन साथै मुक्तिनाथ आउनेजाने तीर्थयात्रीहरुले समेत निःशुल्क भोजन सेवा लिन सक्नेछन् ।
सेवा केन्द्रकी अध्यक्ष मानकुमारी गिरीले निर्माण सम्पन्न भएको तीन तले पक्की भवनमा एकै पटकमा ठुलो संख्यामा मानिसलाई भोजन गराउन सकिने आधुनिक भान्सा, भाँडाकुँडा, खानेपानी तथा सरसफाइको व्यवस्थित सुविधा रहेको बताउनुभयो । स्थानीयबासी तथा सामाजिक अगुवाहरुको पहलमा स्थापना गरिएको सेवा केन्द्र निर्माणका लागि दुई वर्षपहिलेदेखि सुरु गरिएको थियो । सेवा केन्द्र निर्माणका लागि सर्वसाधारण भक्तजनहरुले स्वतःफूर्त आर्थिक र भौतिक सहयोग गरेका हुन् । पोखरा–बाग्लुङ राजमार्गदेखि केही मुन्तिर रहेको भण्डारा सेवा केन्द्रमा तीर्थयात्रीलाई सेवा लिन पनि सहज हुने संचालकको विश्वास छ ।


सेवा केन्द्र नजिकै ब्रम्हलीन साधु नागाबाबाहरु विष्णु गिरी महाराज, पशुपति गिरी महाराज र शिव गिरी महाराजको समाधिस्थल रहेको छ । साधुहरुको समाधिस्थलको धार्मिक महत्वका कारण वर्षेनी सयौको संख्यामा भारत तथा नेपालका विभिन्न स्थानहरुबाट साधुसन्त र भक्तजनहरु आउने गर्दछन् । सेवा केन्द्रकी संरक्षक साध्वी दुर्गानाथले मानवसेवा नै आफ्‌नो लक्ष्य रहेको उल्लेख गर्दै भन्नुहुन्छर्–गुप्तेश्वर महादेवको दर्शन गर्न आउने साधुसन्त तथा भक्तजनहरुलाई शुद्ध भोजनप्रसादको सेवा गर्ने साथै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सेवा केन्द्रको छ ।
गौशालाको स्थापना गरी गौसेवा गर्ने, समाधिस्थल नजिकै ध्यान गर्नका लागि सत्तल निर्माण गर्ने साथै सेवाकेन्द्रको भवनमा व्यवस्थित पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने लक्ष्य रहेको संरक्षक साध्वी दुर्गानाथले बताउनुभयो । आयोजकका अनुसार सेवा केन्द्र भवन निर्माणका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट ५ लाख र कुश्मा नगरपालिकाबाट २ लाख रकम आर्थिक सहयोग भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!