पर्वत — पर्वतको सवैभन्दा उचाईमा अवस्थित जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संगम स्थलमा पर्ने जलजलाको कालञ्जरमा भोलीदेखि श्री कालञ्जर महायज्ञ संचालन हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय प्रवर्द्धनको उद्देश्यसहित वैशाख १५ गतेदेखि ३० गतेसम्म महायज्ञ सञ्चालन गरिने आयोजकले जनाएको छ।
जलजला गाउँपालिका–६ र मोदी गाउँपालिका–४ स्थित कालञ्जर क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण, धार्मिक दृष्टिले महत्वपूर्ण तथा विभिन्न देवीदेवता र शक्तिपीठहरूले समृद्ध क्षेत्र मानिन्छ। यस क्षेत्रलाई थप चिनाउने, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने र सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञ अवधिभर १०८ श्रीमद्भागवत पाठ–पारायण, विभिन्न धार्मिक अनुष्ठान, प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै अतिथि साधु–सन्तहरूको उपस्थितिमा विशेष पूजा–आराधना र भजन–कीर्तन कार्यक्रमहरू पनि गरिने जनाइएको छ।
आयोजक समितिका अनुसार महायज्ञ सफल पार्न विभिन्न सेवा प्याकेजहरू समेत निर्धारण गरिएको छ, जसअन्तर्गत महायज्ञ संकल्प सेवा, आराधना सेवा, गुरुवर तथा अतिथि सत्कार सेवा, रुद्राभिषेक, भागवत पाठ लगायतका कार्यक्रमहरू समावेश छन्।
यस महायज्ञमार्फत कालञ्जर क्षेत्रको धार्मिक महत्व उजागर गर्दै पर्यटन विकासमा टेवा पुर्याउने, साथै समाजमा आध्यात्मिक चेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
महायज्ञमा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनमा आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।






