पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने - News site from Nepal
पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने

पर्वत- पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा वैशाख २६ गते शनिबार कुश्माको बडागाउँस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयबाट प्रतियोगिता सुरु हुने जनाइएको छ । प्रतियोगिताका लागि वैशाख २४ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा महिलातर्फ ५ किलोमिटर र पुरुषतर्फ १० किलोमिटर दौड समावेश गरिएको छ । दुवै विधामा प्रथम हुनेलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, द्वितीयलाई ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तृतीयलाई ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन कुनै दर्ता शुल्क नलाग्ने बताइएको छ ।

नेपाल एथलेटिक्स संघको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा खेलाडीले सुरुदेखि अन्तिम रेखासम्म पूरा दूरी तय गर्नुपर्ने, कुनै सवारी साधन प्रयोग गर्न नपाइने तथा विभागीय खेलाडी सहभागी हुन नपाउने नियम राखिएको छ । सहभागीले जिल्लावासी भएको परिचय खुल्ने कागजात पेश गर्नुपर्नेछ । खेल अवधिभर खेलाडीहरूको दुर्घटना बीमा गरिने र नाम दर्ता गरेका खेलाडीलाई मात्रै बीमा सुविधामा समावेश गरिने जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंग बहादुर पुनले जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडीलाई बिहानको खानाको व्यवस्था समेत आयोजकले गर्ने जनाएको छ । गण्डकी प्रदेश खेलकुद परिषद् पोखराको प्रवर्द्धन तथा जिल्ला एथलेटिक्स संघ पर्वतको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको हो । जिल्ला खेलकुद विकास समिति पर्वतले जिल्लामा एथलेटिक्स खेलको विकास र खेल प्रतिभा पहिचानका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने पुनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!