साहसी मायाको समाज रुपान्तरणको कथा - News site from Nepal
साहसी मायाको समाज रुपान्तरणको कथा

लेखक : राजकुमार निरञ्जन

हरेक युगले जन्माएका छन कयौँ मायाहरुलाई । माया नाम लिएर जन्मिनु फेरि आफैमा मायालु हुनु चाहिँ होईन । मायालु हुन पनि त संघर्ष , साहस र समर्पण चाहिन्छ । हुन त हरेक मायाहरुका यात्रा संघर्षशिल छन तर सत्य यो पनि हो कि हरेक संघर्षशिल मायाहरु प्रेरक बन्न पनि त सक्दैनन । प्रेरक माया बन्ने हो भने नकारात्मक सामाजिक भाष्यलाई तोड्ने साहस हुनुपर्ने जरुरी छ। प्रेरक माया बन्ने हो भने आफ्नै घरले लगाएका र आफ्नै समाजले लगाएका पर्खाललाई भत्काएर नेतृत्व गर्ने साहस हुन पर्ने जरुरी छ । मुठी कसेर हात उठाएर दमित आवाजलाई बुलन्द पार्नु पर्ने जरुरत छ । साँच्चै माया नाम बोकेर मायालु बन्ने हो भने भुँईमान्छेका पक्षमा उभिन पर्ने जरुरी छ ।

हरेक यात्राहरुका असली साथी दु:खहरु नै हुन्छन । दु:खहरु छन र पो त यात्राहरु पनि यादगार हुन्छन । दु:खहरु छन र पो त जन्मिन्छन मायाहरु र मायाका कथाहरु । दु:खहरुले नै त हो मान्छेलाई साहसी र प्रेरक बन्न उद्वोलित पार्ने । चाहे सामाजिक यात्रा हुन या राजनीतिक यात्रा हुन सजिला भने पक्कै हुँदैनन । जसले यस्ता असजिला सामाजिक यात्रा र राजनीतिक यात्रा गर्ने साहस गर्छन उनिहरु पक्कै कमजोर मान्छे चाहिँ होईनन । यस्ता यात्रा गर्ने मान्छेहरुले हृदयमा मायाको बीउ रोपेर एवम मस्तिष्कमा विवेकको बत्ती बालेर हिडेका हुन्छन र उज्यालो पारिदिन्छन सिङ्गो समाजलाई । माया पनि यस्तै दु:खले जन्माएर अदम्य साहस बोकेर समाज बदल्न हिडेकी एउटा समर यात्री हुन । समर यात्रीहरु कि मेटिन्छन कि ईतिहास लेखाएर सदा ज्युदाँ रहन्छन । माया ईतिहास लेखाउने समर यात्री हुन ।

बिक्रम संम्वत २०५० साल देखि परिवर्तनको यात्रासङ्गै एकाकार भएर अहिलेसम्म मायाले अविरल यात्रा गर्दैछिन । महिलाहरुलाई संस्कारका घेराहरुभित्र राख्ने त्यो समयमा मायामा परिवर्तन र राजनितीको चेतना आउनु पक्कै सानो कुरा होईन किनकी राजनीतिक चेतना सामान्य चेतना होईन । २०५० साल तिरै भारतमा संगठित नेपाली एकता समाजमा आवद्ध भएर सहभाव , एकत्व र परिवर्तनको बिगुल फुक्दै मायाले अहिले सम्म कयौँ बर्ष काटिन । उनले त्यतिबेला नै प्रवासी नेपालिलाई जोडेर राजनीतिक चेतना जगाउने काम गरिन । प्रवासी नेपालीलाई सर्वहारा क्रान्तिको चेतना भर्ने काम गरिन । त्यतिबेला नै जातिय समता समाजको नगर सदस्य भएर दलितहरुलाई संगठित गर्दै दलित क्रान्तिको जागरण सुरु गरिन । प्रवासी दलितहरुलाई क्रान्ति चेतले जोडेर दलित आन्दोलनलाई स्थापित गर्ने काम निकै चुनौतिपुर्ण काम हो तर पनि मायाले चुनौतिलाई पनि आफ्नो कर्तव्य ठानेर निरन्तर विभेद र दमन विरुद्ध आवाज उठाईरहिन ।

भारत बसाइँलाई बिट मारेर नेपाल फर्के पछि माया यत्तिकै बसिनन बरु विभिन्न सामाजिक काममा जोडिएर समाज सेवा गर्न लागिन । बाग्लुङ्ग र पर्वतलाई कर्म थलो बनाएकी मायाले सामुदायिक वन जिल्ला महासंघ ( फेकोफन ) पर्वतको सदस्य भएर जिल्ला भरिका वन संरक्षण गर्दै पर्यावरण संरक्षणको अभियानमा दत्तचित्त लगाएर लागिन । भावी पुस्ताको लागि पर्यावरण जोगाएर राख्दिनु हाम्रो पहिलो कर्तव्य हो भन्ने कुरा मायाले सधै ठानिन र अरुलाई पनि पर्यावरण जोगाउन प्रेरित गरिन । त्यसै गरि २०६५ सालमा गल्छिना गोर्ल्याङ्ग सामुदायिक वनको सहसचिव भएर गल्छिना गोर्ल्याङ्ग सामुदायिक वनलाई तीन सय पन्ध्र वनमा उत्कृष्ट बनाउन महत्त्वपूर्ण भुमिका खेलिन । मायाको माया सबैभन्दा बढी रुख जोगाउन पनि देखिन्छ । पर्यावरणको संरक्षणको मुद्दालाई पर्वतभरि नै स्थापित गर्न अहिले पनि मायाको भुमिका महत्त्वपूर्ण छ ।

जतिबेला स्थानिय तहका महिलाहरुलाई घर भित्रका सामान्य काममा कैद गरिन्थ्यो त्यतिबेला मायाले वडा संयोजक भएर दुई कार्यकाल काम गर्दै वडा भित्रका बिकास एवम सामाजिक न्यायको लागि डटेर लडिन । महिला भएर विभिन्न नेतृत्वमा रहेर काम गरेको तीतो अनुभव भएकाले मायाले महिला नेतृत्व बिकासको लागि ईन्प्रेड नेपाल संस्था मार्फत महिलाका समस्या समाधान गर्दै महिला अधिकारको लागि समग्र पर्वत जिल्ला भरि नै आवाज बुलन्द पारिन । समग्र पर्वतलाई चिहाएकाले उनलाई पर्वतका दलित महिलाहरुको हबिगत राम्रोसङ्ग थाहा थियो । महिला मुक्तिको आन्दोलन स्थापित गर्दै दलित महिला र पुरुषको मुक्तिका लागि अझै नजिकबाट लड्ने साहस गर्दै मुक्ती समाज पर्वतमा आबद्ध भएर जिल्लाभरिका दलितका लागि कुनै कसर बाँकी नराखिकन एक्लो योद्धा बनेर लडिरहिन ।

महिला मुक्तिको लागि र दलित मुक्तिको लागि सबैभन्दा जरुरी कुरा उन्नत चेतना हो भन्ने उनको बुझाई छ । उन्नत चेतनासङ्गै उत्पादनसङ्ग जोडिनु पर्ने या सीप सिक्नु पर्ने कुरा आजको दिनमा मुक्ती आन्दोलनमा अपरिहार्य कुरा हो भन्ने उनको मान्यता छ त्यसैले उनले महिलाहरुको सीप बिकास गर्नको लागि घरेलु तथा साना उद्योगबाट सिलाईबुनाई कार्यक्रम गराउनको लागि ठूलो पहल गरिन । महिलाहरुलाई सार्वजनिक हुनको लागि बोल्ने कला तथा भाषण कला बिकास गराउदै नेतृत्व बिकासको उदेश्य राखेर विभिन्न संस्थासङ्ग  समन्वय गर्दै धेरै महिलामुखी कार्यक्रम गरिन ।

गाउँ उठ्नुपर्छ र जिल्ला बन्नुपर्छ भन्ने महान सोच मस्तिष्कमा बोकेर हिडेकी मायाले गाउँका सानातिना समस्यालाई आफ्नै समस्या ठानेर सम्बोधन गर्दै हिडिन । ईन्प्रेड नेपालसङ्ग सहकार्य गरेर गाउँको खानेपानि समस्या समाधान गर्ने देखि सामुहिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने काम उनले दिलोज्यान लगाएर गरिन । समाजमा सह अस्तित्व कायम गर्नको लागि र भाईबन्धुत्वको भावना कायम गराउनको लागि धार्मिक सहिष्णुता राख्न उनले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएकी छिन । गुणस्तर शिक्षा आजको आवस्यकता हो भन्ने बुझाई भएकी उनले श्री जनकल्याण माद्यामिक विद्यालयको अभिभावक संघ समितिमा सदस्यको भुमिका निभाउदै गुणस्तर शिक्षाको लागि महत्त्वपूर्ण काम गरिन । सहकारी संस्था मार्फत सहभागितामुलक कार्यक्रम गर्ने कुरामा होस या प्रौढ शिक्षा दिने कुरामा होस उनको भुमिका कहिँ कतै कमि भएन । विभिन्न क्लबका कार्यक्रममा सहभागी हुँदै सामाजिक कल्याण अभियानमा हातमा हात मिलाएर सधै उनी अग्र स्थानमा हिडिरहिन ।

आफ्नो ठाँउलाई पर्यटकिय गन्तव्य बनाउनुपर्छ भन्ने जोडबलका साथ मायाले घाईथुने देखि बच्छेश्वर जोड्ने पैदल मार्ग निर्माणको लागि महत्त्वपूर्ण पहल गरिन । कालीगण्डकीको महिमालाई विश्व सामु चिनाउनको लागि कालीगण्डकी संरक्षण कार्यक्रम लिएर सेतिवेणी देखि मिर्मिसम्म २०७० सालमा जलयात्रा कार्यक्रममा सहभागी हुँदै कालीगण्डकी संरक्षणको सन्देश छरिन । विभिन्न समितिमा रहेर पर्यावरणका मुद्दा लिएर डटेर लडिन । जनताका रोग , शोक र भोक मेटाउनको लागि आफ्नो सामार्थ्यले भेटेसम्म लडिरहिन ।

महिलाले राजनीतिक नेतृत्व गर्न जरुरी छ र राजनीतिक चेत भएका महिलाहरुले राजनीतिक नेतृत्व गर्नुपर्छ भन्दै मायाले नेकपा एमालेबाट २०७४ र २०७९ को स्थानीय तहको चुनाव लड्ने साहस गरिन । दुबै चुनावी प्रतिस्पर्धामा हार सामाना गरिकी उनले सामाजिक कार्य गर्न भने छोडिनन । उनको सक्रियता र सामाजिक अन्तरघुलनताको कारणले पार्टिले उनलाई २०७९ मा नै कार्यपालिका सदस्य बनायो । विषेश गरि वडा भित्रका काममा केन्द्रित भएकी मायालाई कार्यपालिका सदस्यको भुमिकाले सिङ्गो बिहादी गाउँपालिकामा सामाजिक , आर्थिक र राजनैनिक काम गर्ने अवसर दियो। अवसरलाई सहि सदुपयोग गर्दै सिङ्गो बिहादिको समृद्धि लागि मायाले महत्त्वपूर्ण भुमिका खेल्दै आएकी छिन ।

एउटा समाज रुपान्तरण गर्न चुट्की बजाए जस्तै सजिलो हुँदैन । समाज रुपान्तरण गर्नको लागि अविरल प्रयत्न हुनु जरुरी छ । फेरि समाज रुपान्तरण एउटा व्यक्तिले मात्रै गर्न पनि सक्दैन । समाज सामुहिक प्रयत्नले रुपान्तरण हुने हो । समाजको सामाजिक , आर्थिक र राजनीतिक परिवेश सम्पुर्णतय परिवर्तन भएर नागरिकलाई पुर्णतय सह अस्तित्व , सहभाव र समताको अनुभूति हुन सकेमा समाज रुपान्तरण भएको मान्न सकिन्छ । रुपान्तरणको यात्रामा एउटा ब्यक्ती आंशिक हो र साथसाथै महत्त्वपूर्ण पनि हो । मायाले कहिल्यै आफुमा केन्द्रमा राखिनन बरु उनले त सिङ्गो समुदायलाई केन्द्रमा राखेर काम गरिरहिन । पहिला घर भित्र खुम्चिरहेका महिलाहरु अहिले मोबाइलको स्क्रिनमा खुम्चिरहेका छन । शैक्षिक र प्राविधिक क्षेत्रमा ठूलो फड्को मारेका महिलाहरु मोबाइलको स्क्रिनबाट बाहिर निस्केर समाजमा अन्तरघुलित हुन सकेका छैनन । यस्ता हजारौं महिलाका लागि माया आजको दिनमा प्रेरणाको स्रोत हुन । मायासङ्ग जे जति ज्ञान र क्षमता थियो त्यो सम्पुर्णतय समाजको लागि खर्च गरिन । समाज रुपान्तरणको यो अविरल यात्रामा मायाको योगदान प्रशंसनीय र प्रेरणादायिक छ । आजको दिनमा माया जस्ता हजारौँ महिला जन्मिन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!