कालोपत्रका लागि ठुलीपोखरी–खौला सडक बीस दिन बन्द, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह   - News site from Nepal
पर्वत ८ वैशाख : तीन दशक अघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक अन्तर्गत ठुलीपोखरी–खौला खण्ड बीस दिन बन्द हुने भएको छ ।
कालोपत्रको तयारी भैरहेका बेला सवारी साधन संचालन गर्दा काम प्रभावित हुनुका साथै गुणस्तरहिन हुने भएकाले २० दिनका लागि सडकमा सवारीसाधन संचालन गर्न बन्द गरिएको हो । सोमवार जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले यहि वैशाख १० गतेदेखि ३० गते सम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
उक्त खण्डको झण्डै तीन किलोमिटर सडक अहिले कालोपत्र गर्न थालिएको छ । सडकमा चार पाङ्ग्रे सवारीहरु बन्द गरिएपनि दुई पाङ्ग्रे सवारीसाधन भने संचालन गर्न दिईने भएको छ । उक्त समयमा बैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ । बैकल्पिक सडकको रुपमा बाम्रा– गैराथोक–राताडाँडा हुँदै बुमी–लाम्पाटा–गहतेपोखरा–साईकलचोक सडक प्रयोग गर्न आग्रह गरिएको हो ।
अहिले ठुलीपोखरी–खौला खण्डमा कालोपत्र गर्नका लागि नाली निर्माण, सडक चौडा गर्ने, ग्यावियन जाली लगाउने लगायतका अन्य संरचना निर्माणको काम सम्पन्न गरी सववेस विछ्याउने कार्य भैरहेको पुर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
झण्डै तीन दशक अघि मार्ग खुलेको यो दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकको सिल्मीदेखि ठुलीपोखरी सम्मको केहि भाग यस अघिनै कालोपत्र भएको थियो । अहिले बाँकी रहेको खण्डमा ढलान तथा कालोपत्र गरी सम्पन्न हुने पुर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
अब खौलादेखि कार्किनेटा सम्मको झण्डै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ । यो सडक कालोपत्र भएमा मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने भएको छ । अहिलेपनि स्याङ्जा, पाल्पा, बुटबलतर्फ जाने केहि सवारीसाधनले यो मार्ग प्रयोग गर्दै आएका छन् ।
यो मार्गमा कालोपत्र गर्नका लागि पटक पटक बजेट माग गर्दापनि पर्याप्त मात्रामा बिनीयोजन हुन नसकेको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमालले बताउनुभयो । यस आगामी आर्थिक वर्षमा पनि बजेट माग गरेर यसलाई पुरा गर्न लागिपरेको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले विकास निर्माणको कार्य गर्ने बेला केहि कठिनाई समेत हुने भएकाले बैकल्पिक मार्ग प्रयोग गरी उक्त सडकलाई पुर्णता दिन सहयोग गर्न सो क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभएको छ । उहाँले निर्माण ब्यावसायीलाई बीस दिनभित्र पुरै काम सम्पन्न गर्न समेत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!