पर्वत ११ वैशाख : पर्वतको मोदी गाउँपालिका अन्तर्गत र डिमुवा र पातीचौर क्षेत्रमा अनुगमन गरिएको छ ।
एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा जिल्ला प्रशासन कार्यालय, मोदी गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, उद्योग बाणिज्य संघ र पत्रकारको सहभागितमा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा अधिकांस पसलहरु दर्ता तथा नविकरण नभएका, मुल्य सुचि नराखिएका, बिल बिजक जारी नगरिकन सामाग्री बेचबिखन गरेको र आवश्यक मापदण्ड र प्रकृया पुर्याउन बाँकी रहेका भेटिएका छन् ।

बजारमा बस्तु, तथा सामानको उपलव्धता, मुल्य बृद्धि, मिसावट, कृत्रिम अभाव, व्यावसाय दर्ता नविकरण, वा अद्यावधिक जस्ता समस्याहरु छन् कि छैनन भन्ने उद्धेयले अनुगमन गरिएको हो । अनुगमनका क्रममा पहिलोपटक मापदण्ड नपुगेका वा दर्ता नविकरण नभएका व्यावसायीहरुलाई आवश्यक प्रकृया पुरा गर्न अनुरोध गरिएको छ ।
दोहोरो नपर्ने गरी कि पालिकामा कि एकीकृत सेवा कार्यालयमा दर्ता गर्न, नविकरण, राजश्व भुक्तानी लगायतका विषयमा जिम्मेवार बन्न आग्रह गरिएको छ । अहिले गरिएको अनुरोध अटेर गरि व्यावसाय संचालन गरिरहेमा अर्को पटकको अनुगमनका क्रममा कारबाही गरिने एकीकृत सेवा कार्यालय पर्वतले जनाएको छ ।
उक्त क्षेत्रका झण्डै तीन दर्जन विभिन्न प्रकृतिका पसलमा अनुगमन गरिएको थियो । बजारमा बस्तु तथा सामान पर्याप्त मात्रामा रहेको, ग्याँस लगायत अन्य कुनैपनि खाद्यान्न आपुर्तिमा समस्या वा अभाव नभएको पाईएको एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख गोबिन्द पौडेलले जानकारी दिनुभयो ।






