पर्वतका कार्यालय प्रमुखहरूबाट सांसद भुसाल समक्ष ब्रिफिङ, जनतालाई दुःख नदिन भुसालको आग्रह - News site from Nepal
पर्वत, — प्रतिनिधि सभा सदस्य सागर भुसालको उपस्थितिमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले समसामयिक सेवा प्रवाह, विकास निर्माण र शान्ति सुरक्षाको अवस्थाबारे विस्तृत ब्रिफिङ गरेका छन्। प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्पन्न उक्त बैठकमा सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू तथा जिल्लाका सातवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो।

बैठकमा नागरिकले भोग्दै आएका दैनिक समस्या, सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, विकास निर्माणमा रहेका अवरोध तथा शान्ति सुरक्षासम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। सहभागी कार्यालय प्रमुखहरूले आ-आफ्नो क्षेत्रको अवस्थाबारे जानकारी गराउँदै सुधारका प्रयास र चुनौतीहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै सांसद भुसालले जनताले पाउनुपर्ने सेवा सहज, छिटो र प्रभावकारी बनाउन सबै निकायलाई निर्देशन दिएका छन्। उनले “भोलि आउनुस्” भन्ने प्रवृत्तिले जनतालाई अनावश्यक दुःख दिने भएकाले यसलाई तत्काल अन्त्य गर्न जोड दिए। सरकारी कार्यालयहरू जनताको सेवा गर्ने थलो भएको उल्लेख गर्दै उनले सेवा प्रवाहमा ढिलाइ, झन्झट र बेवास्ता सह्य नहुने स्पष्ट पारे।

त्यस्तै, उनले विकास निर्माणका कामहरूलाई तीव्रता दिन, खानेपानी, सडक तथा स्वास्थ्य सेवामा देखिएका समस्याहरू समाधान गर्न सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरे। जिल्लाको शान्ति सुरक्षा अवस्था थप मजबुत बनाउन सुरक्षा निकायलाई प्रभावकारी समन्वय र सक्रियता बढाउन पनि उनले निर्देशन दिएका छन्।

सांसद भुसालले जनताका गुनासा र अपेक्षालाई राज्यका निकायसम्म पुर्‍याउनु आफ्नो दायित्व भएको बताउँदै जनतामुखी प्रशासन निर्माणमा सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। उनले सरकारी संयन्त्रलाई जनताको दुःख कम गर्ने माध्यमका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।

बैठकबाट सेवा प्रवाहलाई चुस्त, पारदर्शी र उत्तरदायी बनाउने तथा विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने निष्कर्ष निकालिएको बताइएको छ।

सो अवसरमा सांसद भुसालले आफ्‌नो नेतृत्वको सरकारको हबला दिँदै केहि कार्यकर्ताहरुले कार्यालयहरुमा आतंक फैलाउन खोजेको सुचना आएको बताउँदै आफुले उनिहरुलाई सचेत गराउने प्रतिवद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!